logo
२०८१ असोज ९ बुधवार



बेलायतको रिडिङस्थित पार्कमा छुरा प्रहार, तीन जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


बेलायतको रिडिङस्थित पार्कमा छुरा प्रहार, तीन जनाको मृत्यु
तस्विर बीबीसी


लन्डन, असार ७ गते । बेलायतको रिडिङ शहरस्थित एक पार्कमा शनिबार अन्धाधुन्ध आक्रमण हुँदा तीन व्यक्तिको मृत्यु हुनुका साथै अरु तीन जना गम्भीर घाइते भएका छन् । स्थानीय प्रहरीले उक्त आक्रमण आतङ्कवादी हो वा होइन भन्ने बारेमा अनुसन्धान शुरु गरिएको जनाएको छ ।
थेम्स भ्याली प्रहरीले एक जना २५ वर्षका व्यक्तिलाई घटनास्थलबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा अरु थप आक्रमणको सम्भावना नरहेको र स्थानीयवासीलाई नआत्तिन आग्रह गरेको छ । गुप्तचर विभाग प्रमुख इयान हन्टरले उक्त आक्रमणको भित्री कारणबारे अनुसन्धान भइरहेको जानकारी दिँदै प्रतिआतङ्कवादी इकाईका गुप्तचरहरूले अनुसन्धान कार्यमा सहयोग गरिरहेको बताउनुभयो ।
बेलायती सञ्चारमाध्यमहरूले उक्त घटना आतङ्कवादी प्रकृतिको देखिएको र पक्राउ परेका व्यक्ति लिबियाली नागरिक रहेको जनाएका छन् । प्रहरीले पक्राउ परेका व्यक्ति लिबियाली नै रहेको पुष्टि गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले रिडिङमा भएको घटनाबाट पीडितका परिवारप्रति आफूले गहिरो दुःख प्रकट गरेको बताउनुभएको छ ।
बेलायतको राजधानी लन्डनबाट करिब ६४ किलोमिटर पश्चिमस्थित रिडिङको फोरबरी गार्डेन पार्कमा साँझपखको घाम तापिरहेका व्यक्तिमाथि साँझ करिब ७ बजे आक्रमण भएको थियो ।
प्रत्यक्षदर्शीहरूले प्रहरीको कार र हेलिकप्टर तत्कालै घटनास्थलमा पुगेको बताएका छन् । केही मिनेटभित्रै प्रहरीले वरपरका सडकहरू अवरुद्ध गर्नुका साथै घाइतेहरूको उद्धारका लागि दुई वटा एयर एम्बुलेन्स ल्याइएको थियो ।
पार्कमा रहेका प्रत्यक्षदर्शी लरेन्स वोर्टले एक जना एक्लो व्यक्ति ठूलो समूहमा रमाइरहेका व्यक्तिहरूको नजिक पुगेर अन्धाधुन्ध छुरा प्रहार गरेको जानकारी दिनुभयो । पार्कका अरु मानिसलाई पनि छुरा हिर्काउँदै ती व्यक्ति पार्कबाहिर भागेका थिए । उक्त घटना हुनुअघि फोरबरी गार्डेनमा अश्वेत नागरिकमाथिको विभेदविरुद्ध एउटा प्रदर्शन गरिएको थियो । प्रहरीले उक्त आक्रमण र प्रदर्शनबीच कुनै सम्बन्ध नरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप