वासिङ्टन, असार ७ गते । संयुक्तराज्य अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकको सङ्ख्या घटाएर आठ हजार ६०० मा सीमित गरेको जनाएको छ । गत फेब्रुअरीमा अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसँगको सम्झौताबमोजिम करिब पाँच हजार अमेरिकी सैनिकको सङ्ख्या कटौती गरिएको हो ।
अफगानिस्तानका लागि अमेरिकी सेनाका प्रमुख जनरल फ्रान्क म्याकेन्जीले अफगानिस्तानमा तैनाथ अरु सैन्यबल कहिलेसम्ममा फिर्ता भइसक्छन् भन्ने बारेमा भने बताउनु भएन । तालिबानसँगको सम्झौता अनुसार अफगानिस्तानमा तैनाथ सबै अमेरिकी र अन्य विदेशी फौज आगामी सन् २०२१ को मे महिनाभित्र फिर्ता भइसक्नेछन् । तर जनरल म्याकेन्जीले थप सैन्य कटौतीका लागि तालिबान समूहले पनि आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान मिसनको कार्य पूरा भइसकेकाले अमेरिकी फौज फिर्ता गरिने बताउँदै आउनुभएको छ । उहाँले अमेरिकी सेना अफगानीहरूको आन्तरिक मामिला सुल्झाउन लामो समय अफगानिस्तानमा बस्न नसक्ने बताउनुभएको छ ।
अमेरिकी फौज अफगानिस्तानमा सन् २००१ को अक्टोबरदेखि तैनाथ छ ।
जनरल म्याकेन्जीले तालिबान समूहसँगको सम्झौतालाई अमेरिकाले कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो ।
आस्पेन स्ट्राटेजी ग्रुपको वेबिनारमा बोल्दै म्याकेन्जीले भन्नुभयो, “हाम्रा सेनालाई लक्षित गरी तालिबान समूहबाट आक्रमण हुन छाडेका छन् । अहिले अमेरिकालक्षित केही घटनाहरू अल–कायदा र इस्लामिक स्टेट्सले गराएका छन् ।”
गत फेब्रुअरीको सम्झौतामा तालिबान समूहले अफगानिस्तानमा कुनै पनि अन्य आतङ्कवादी समूहलाई आश्रय नदिइने वा अमेरिकाविरुद्ध आक्रमण हुनबाट रोक्ने उल्लेख छ । उहाँले भन्नुभयो, “तालिबानले आफूले व्यक्त गरेका प्रतिबद्धता पूरा गरेको छ, छैन भन्ने हामी नियालिरहेकाछौँ। उनीहरूसँग शान्तिपूर्ण अफगानिस्तान निर्माण गर्ने अवसर छ, तर समय निकै घर्किरहेको छ ।”