logo
२०८१ मंसिर १४ शुक्रवार



दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित

अन्तर्राष्ट्रिय |


दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित
तस्विर-बीबीसी, दक्षिण अफ्रिकामा भारी संख्यामा स्वास्थ्य कार्यकत्र्ता संक्रमित भएपछि क्यूबाबाट स्वास्थ्य अधिकारीहरु पठाइएका छन्।


केपटाउन, असार १० गते । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका छन् ।
देशका स्वास्थ्य मन्त्री ज्वेली एमखिजाले दिएको जानकारी अनुसार देशभरी कुल तीन हजार ५८३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । तीमध्ये ३४ स्वास्थ्यकर्मीको मृत्यु भएको छ । “आफ्नै मृत्यु हुनेबेलासम्म पनि स्वास्थ्य सेवा गर्नुभएका र सेवा गर्ने क्रममा सङ्क्रमित भएर मृत्यु भएका सबै स्वास्थ्यकर्मीहरूको आत्माको शान्तिको कामना गर्दछु,” उहाँले भन्नुभयो ।
इस्टर्न केप प्रान्तको उइतेन्हामा निर्माण गरिएको तीन हजार तीन सय शय्याको पहिलो चरणको फिल्ड अस्पतालको शुभारम्भ गर्दै उहाँले यस्तो जानकारी दिनुभएको हो । सङ्क्रमित भएका स्वास्थ्यकर्मीमध्ये एक हजार ९९३ जना भने सङ्क्रमणमुक्त भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
दक्षिण अफ्रिकामा कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको पनि स्वास्थ्य मन्त्रीले जानकारी दिनुभयो । पछिल्लो विवरण अनुसार देशभरि एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने एक हजार ९९१ जनाको मृत्यु भएको छ ।
सङ्क्रमित हुने र मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै गइरहेकाले सङ्क्रमितको उपचारमा अझ धेरै स्वास्थ्यकर्मीहरूको आवश्यकता रहेको स्वास्थ्य मन्त्रीको भनाइ छ । आवश्यकता पूर्तिका लागि सरकारले नयाँ स्वास्थ्यकर्मीलाई सरकारी सेवामा लगाउने प्रयास एकातर्फ गरिरहेका छ भने अर्कोतर्फ हालै अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई पनि सेवामा सहभागी हुन आह्वान गरेको छ ।
त्यसैगरी अन्य स्वास्थ्यकर्मीहरूलाई पनि कोरोनाविरुद्धको लडाइँमा आआफ्नो तरिकाले लाग्न पनि सरकारले आग्रह गरेको छ । उनीहरूलाई काममा फर्काउन आवश्यक आधारभूत तालिम, सुरक्षा र प्रतिरक्षाको व्यवस्था सरकारले गरिदिने आश्वासन पनि स्वास्थ्य मन्त्री एमखिजाले दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?