logo
२०८१ असोज ९ बुधवार



‘पाकिस्तानका प्रत्येक तीन विमान चालकमध्ये एकको अनुमति पत्र नक्कली’

अन्तर्राष्ट्रिय |


‘पाकिस्तानका प्रत्येक तीन विमान चालकमध्ये एकको अनुमति पत्र नक्कली’
तस्विर-सीएनएन


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ११ गते । पाकिस्तान नागरिक उड्ययन मन्त्रीले पाकिस्तानका तीस प्रतिशतभन्दा बढी विमान चालकको चालक अनुमति पत्र नक्कली रहेको दाबी गर्नुभएको छ । सीएनएनका अनुसार पाकिस्तानको राष्ट्रिय सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री गुलाम सरवार खानले २६२ जना विमान चालकले आफैँ परीक्षामा उपस्थित नभई आफ्नो स्थानमा पैसा तिरेर अरुलाई परीक्षा दिन लगाएर अनुमति पत्र लिएको खुलाउनुभएको छ ।
उहाँले भन्नुभयो, “उनीहरूमा विमान उडाउने अनुभव पनि छैन ।” पाकिस्तानमा घरेलु विमान उडाउने करिब ८६० जना सक्रिय विमान चालक छन् । जसले पाकिस्तानको राष्ट्रिय ध्वजावाहकसँगै केही अन्तर्राष्ट्रिय विमान कम्पनीको विमानसमेत भर्दैआएका छन् । पाकिस्तानले नक्कली अनुमति पत्र भएका सबै विमान चालकलाई तत्कालै लागू हुने गरी अवतरण गराएको छ ।
पाकिस्तान अन्तर्राष्ट्रिय विमान(पीआईए)का प्रवक्ता अब्दुल्लाह खानले नक्कली चालक पत्रको मुद्दा पीआईएको मात्रै नभई पाकिस्तानमा सञ्चालित सबै विमान सेवाको भएको बताउनुभयो । केही नक्कली चालकले अन्तर्राष्ट्रिय विमान कम्पनीको सेवा समेत दिँदैआएको उहाँले प्रष्ट्याउनुभयो ।
गत मे २२ मा दक्षिणी कराँचीमा ९७ जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनाको छानबिन प्रतिवेदनको केही अंश सार्वजनिक गर्ने क्रममा उक्त खुलासा भएको हो । लाहोरबाट उडान भरेको विमान कराँचीनजिकै बस्तीमा दुर्घटनाग्रस्त भएको थियो ।
मन्त्री खानले भने दुर्घटना भएको विमान पीके ८३०३ का चालकद्वयको अनुमति पत्रबारे भने केही खुलाउनुभएन । प्रतिवेदनबमोजिम चालक दलका सदस्यहरू कोरोना महामारीबारे कुराकानीमा व्यस्त थिए । एयर ट्राफिकबाट आएको चेतावनीलाई निरन्तर बेवास्ता गर्दा विमान आवासीय क्षेत्रमा दुर्घटना हुनपुगेको प्रतिवेदनमा केलाइएको छ । विमानमा सवार दुई जना भने बाँच्न सफल भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?