नयाँ दिल्ली, साउन ६ गते ।
भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जना स्थानीय नागरिकको ज्यान लिएको छ । राज्यका अधिकारीहरूले जनधनको ठूलो क्षति भएको बताएका छन् । आसाममा गएका केही दिनयता देखि अविरल वर्षा जारी छ । अझै ठूलो क्षति हुन सक्ने त्रास रहेको छ ।
मङ्गलबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या १११ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार कम्तीमा पनि २५ लाख मानिस नराम्ररी प्रभावित भएका छन् । उनीहरू घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ ।
उक्त विभागले दिएको जानकारीमा यहाँका ८५ जना मानिसको बाढीमा परेर ज्यान गएको छ भने अरु २६ जना पहिरोमा परी मृत्यु भएको छ । सो विभागले गएको हप्ता दिनदेखि नै यहाँ अविरल रुपमा वर्षा भइरहेको छ ।
आसामका कम्तीमा पनि ३० जिल्लाका ४५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका बताइएको छ । ती मध्ये लाखौँ व्यक्ति घरबारबिहीन पनि भएका छन् । तर बाढी निरन्तर रहेकोले यस विषयमा विस्तृत रुपमा विवरण भने आइसकेको छैन । ब्रह्मपुत्र र यसका सहायक नदीमा पानीको बहाब अझैपनि खतराको सङ्केत माथि रहेको बताइएको छ । ब्रह्मपुत्र नदीले गुहावाटीसमेत राज्यका धेरै जिल्लामा ठूलो क्षति निम्ताएको छ । राज्य सरकारले सचेत रहेर बस्न सूचना जारी गरेको छ ।
राज्यमा सयौँको सङ्ख्यामा शिविरहरू स्थापना गरेर उद्धारको काम जारी राखेको छ । ती क्षेत्रमा भएको क्षतिको विवरण पूर्ण रुपमा अझै आएको छैन । उद्धारको काम जारी रहेको आसामका उद्धारकर्मीहरूले जनाएका छन् । सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा धेमाजी, लखिमपुर, विश्वनाथ, दराङ, बाक्सा, नालबारी, बारपेटा, चिराङ, बोन्गाइगाउँ, कोक्राझार, ढुब्री, गोलपारा, कामरुप, मोरीगाउँलगायत रहेका छन् ।