logo
२०८१ मंसिर ७ शुक्रवार



बाइडेन र ह्यारिसको संयुक्त सम्बोधन, ट्रम्पका नीतिहरू असफल

अन्तर्राष्ट्रिय |


बाइडेन र ह्यारिसको संयुक्त सम्बोधन, ट्रम्पका नीतिहरू असफल
तस्विर–द बस्टन ग्लोब


विलमिङ्टन, डेलावेयर, साउन २९ गते । अमेरिकी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले विगतको राजनीतिक प्रतिस्पर्धालाई विश्राम दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पको चरित्र र कार्यसम्पादनमाथि तिखो टिप्पणी गर्नुभएको छ ।
विगतमा बाइडेन र ह्यारिसबीच अमेरिकी समाजका मुद्दाहरूलाई लिएर तीव्र मतभेद र विमति हुँदै आएको थियो । तर बाइडेनले उपराष्ट्रपति पदका लागि ह्यारिसलाई मनोनयन गरेसँगै दुवैबीच ऐतिहासिक पहिलो उपस्थिति भएको हो ।
बुधबार डेमोक्र्याटिक पार्टीका तर्फबाट टिकट सुनिश्चित भएका दुई उम्मेदवारको संयुक्त कार्यक्रममा कोरोनाभाइरसका कारण तडकभडक हुन पाएन । अमेरिकी समाजमा राष्ट्रपति पदका उम्मेदवारलाई ठूलो जनसमूहले स्वागत र अभिवादन गर्ने प्रचलन रहे पनि कोरोनाभाइरसका कारण अति सानो सङ्ख्याका मानिसलाई मात्र उक्त कार्यक्रममा उपस्थित हुन दिइएको थियो ।
उपराष्ट्रपतिको उम्मेदवारी घोषणा कार्यक्रम एउटा माध्यमिक विद्यालयको खाली जिममा आयोजना गरिएको थियो । कार्यक्रममा चुनावी अभियानका सहयोगी र उम्मेदवारका परिवारको सङ्ख्याभन्दा संवाददाताहरूको सङ्ख्या बढी थियो ।
कार्यक्रममा बाइडेन र ह्यारिसले एक शताब्दीमा सबैभन्दा गम्भीर सार्वजनिक स्वास्थ्य सङ्कटको सामना गर्न अमेरिका असमर्थ भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्नुभएको थियो । ह्यारिसले ट्रम्प प्रशासनमाथि कडा शब्दमा निन्दा गर्नुभएको थियो ।
ह्यारिसले भन्नुभयो, “यो भाइरसले विश्वका सबैजसो मुलुकलाई असर पारेको छ । तर अरु विकसित मुलुकभन्दा अमेरिकालाई भाइरसले बढी आक्रान्त बनाएको छ र त्यसको कारण छ । यसको मूल कारण भनेकै भाइरस फैलिन थाल्नुअघि नै ट्रम्पको विफलताले अहिलेको विषम अवस्था सिर्जना भएको हो ।”
उहाँले भन्नुभयो, “हामीले उपयुक्त व्यक्ति नछान्दाको यो परिणाम हो ।” अमेरिकाको कुनै पनि प्रमुख दलबाट उपराष्ट्रपति पदमा टिकट प्राप्त गर्ने उहाँ पहिलो अश्वेत महिला हुनुहुन्छ । ह्यारिस र बाइडेन दुवैले ह्यारिसको छनौटप्रति खुशी व्यक्त गर्नुभएको थियो ।
राष्ट्रपति ट्रम्पले बिडेन–ह्यारिसको उम्मेदवारीमाथि विगतझैँ कडा टिप्पणी गर्नुभएको छ । उहाँले डेमोक्र्याट्सलाई अति उदारवादी तर त्यति प्रगतिशील नरहेको आरोप लगाउनुभयो ।
उहाँले गत वर्षको प्राथमिक चुनावी अभियानमा दुवैबीच व्यापक असहमति रहेको पनि उल्लेख गर्नुभएको छ ।
“ह्यारिसले बाइडेनमाथि निकै आपत्तिजनक शब्द प्रयोग गर्नु भएको थियो,” ट्रम्पले बुधबार भन्नुभएको छ । तर विल्मिङटनको समारोहमा बाइडेन र ह्यारिसले एक अर्काप्रति स्पष्ट स्नेह देखाउनुभएको छ । दुवैले विगतमा सँगै काम गर्दाका अनुभव सुनाउनुभएको थियो ।
ह्यारिसले जाति र नागरिक अधिकारका मुद्दाहरूमा बाइडेनका योजनामा पूर्ण समर्थन र प्रतिरक्षा गर्ने सङ्केत गर्नुभएको छ । बाइडेन–ह्यारिसको संयुक्त कार्यक्रम भएलगत्तै २४ घण्टाको अवधिमा चुनावी अभियानका लागि ठूलै धनराशि प्राप्त भएको भन्दै यसबाट दुवै उम्मेदवारमाथि ठूलो समर्थन रहेको देखाएको छ । बाइडेनले करिब एक लाख ५० हजार मानिसले पहिलोपटक चुनावी अभियानका लागि चन्दा दिएको बताउनुभएको छ । चाैबीस घण्टाको अवधिमा करिब २ करोड ६० लाख डलर सङ्कलन भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप