logo
२०८१ असोज १२ शनिवार



युरोपमा कोरोना सङ्क्रमणको दोस्रो तरङ्ग !

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


युरोपमा कोरोना सङ्क्रमणको दोस्रो तरङ्ग !
तस्विर-यूरो न्युज


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ५ गते । फ्रान्समा कोरोनाभाइरस सङ्क्रमणका बिरामी उच्च रफ्तारमा वृद्धि भएको छ । बुधबार चौबीस घण्टामा मात्रै चार हजार ७७१ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार गत मे महिनापछि पहिलो पटक चार हजारभन्दा सङ्क्रमित पुष्टि भएको हो । स्पेन, जर्मनी र इटालीमा पनि गत अप्रिल र मे महिनापछिको सबैभन्दा बढी सङ्क्रमित फेला परेको छ । स्पेनमा पछिल्लो समय सङ्क्रमणको पुष्टि भएकोमा अधिकांश युवा उमेर समूहका छन् । जर्मनीमा सामाजिक दूरीको पालना नहुँदा र विदेशबाट आउनेमा भएको वृद्धिले सङ्क्रमित बढेको बीबीसीले उल्लेख गरेको छ ।

बेलायतमा यूरोपमै एकैदिनमा सबैभन्दा बढी एक हजार १८२ जना सङ्क्रमितको मृत्यु दर्ता गरिएको छ । मध्य अगष्टपछि सङ्क्रमित हुनको सङ्ख्या गति लिएको छ ।
फ्रान्समा सङ्क्रमण दर पनि पहिलेको भन्दा उच्च देखिएको छ । यसअघि अगष्ट सुरुवातमा २.१ प्रतिशत रहेको सङ्क्रमण दर अगष्ट दोस्रो सातामा ३.३ प्रतिशत पुगेको छ । जुलाइमा भने सङ्क्रमण दर मात्र १.५ प्रतिशत रहेको थियो ।

अधिकारीहरूका अनुसार भाइरसको सङ्क्रमण फ्रान्सको मुख्य शहरका युवामा बढी देखिएको छ । स्पेनमा बिहीबार तीन हजार ३४९ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सङ्कटकालीन संयोजक फर्नान्डो सिमोनले राष्ट्रिय स्तरमा सङ्क्रमण नियन्त्रित देखिएपनि केही क्षेत्रमा अनियन्त्रित भएको इ आइ पेस पत्रिकासँगको कुराकानीमा उल्लेख गर्नुभयो । स्पेनमा गत साता सङ्क्रमणबाट १३१ जनाको मृत्यु भएको थियो । एक महिनाअघिको तुलनामा उक्त सङ्ख्या करिब दश गुणा बढी हो ।
जर्मनीमा एकैदिन एक हजार ७०७ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । सङ्क्रमित हुने अधिकांश पारिवारिक जमघट र बिदा उत्सवबाट फर्किएकाहरू छन् । जर्मनीको रोबर्ट–कोच इन्स्टिच्युटका अनुसार कोसोभो, टर्की र क्रोएशियाबाट फर्किनेहरूमा सङ्क्रमण दर उच्च छन् ।

इटालीमा पछिल्लो चौबीस घण्टामा ८४५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । युरोपेली अन्य राष्ट्रहरूको तुलनामा सङ्क्रमण दर र सङ्क्रमित हुने सङ्ख्या बढी नभएपनि गत मे महिना यताकै उच्च हो । मिलानस्थित सासो अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा. मस्सीमो गल्लीले भन्नुभयो, “हामी फ्रान्स र स्पेन जस्तो खराब अवस्थामा छैनौँ, तर अहिलेको स्थिति सन्तोषजनक पनि छैन ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?