logo
२०८१ असोज १२ शनिवार



रिपब्लिकन पार्टीको अधिवेशनको तयारी पूरा, राष्ट्रपति ट्रम्पलाई मनोनयन गर्ने

अन्तर्राष्ट्रिय |


रिपब्लिकन पार्टीको अधिवेशनको तयारी पूरा, राष्ट्रपति ट्रम्पलाई मनोनयन गर्ने
तस्विर-टाइम म्याग्जिन


चार्लोट्टे, भदौ ८ गते। अमेरिकी राष्ट्रपतिको आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको उम्मेदवारीलाई अनुमोदन गर्न रिपब्लिकन पार्टीको भेला उत्तरी क्यारोलिनको चार्लोट्टेमा सोमबार शुरु हुँदैछ । चार दिने यस भेलाले ट्रम्पको उम्मेदवारीलाई औपचारिकता दिनेछ ।

गत साता डेमोक्र्याटिक पार्टीको चार दिने भर्चुअल भेलाले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन गरिसकेको छ । बाइडेनले उपराष्ट्रपतिमा मनोनयन गर्नुभएकी कमला ह्यारिसलाई पनि सोही भेलाले अनुमोदन गरिसकेको छ ।

कोरोनाभाइरस महामारीका कारण चार्लोट्टे सम्मेलन केन्द्रको भेलाको आकार सानो बनाइएको रिपब्लिकन पार्टीले जनाएको छ । रिपब्लिकन पार्टीको यो सम्मेलन राष्ट्रपति ट्रम्पका लागि विशेष महत्वको रहने छ, किनभने पछिल्लो पटक गरिएका राष्ट्रव्यापी र राज्यस्तरका चुनावी मत सर्वेक्षणले राष्ट्रपतिलाई बाइडेनको तुलनामा कमजोर स्थितिमा देखाएका छन् ।

विश्लेषकहरूका अनुसार राष्ट्रपति ट्रम्पका लागि आगामी चुनाव जनमतसङ्ग्रह सरह हुनेछ । उहाँले यसअघि अघि सार्नुभएका कैयौँ नीतिको कार्यान्वयन नभएको र कोरोनाभाइरसका सम्बन्धमा ठोस योजना अघि नसार्दा ठूलो सङ्ख्यामा मानिसको मृत्यु भएको, अर्थतन्त्र शिथिल बनेको तथा मानिसहरू बेरोजगार बनेको स्थिति छ । यसबाहेक देशभित्र कानुन व्यवस्थामा सुधार नहुँदा अश्वेत र सीमान्तकृत नागरिकहरूका ठुल्ठूला जुलुस देशव्यापी बनेका छन् ।

रिपब्लिकन पार्टीकी अध्यक्ष रोन्ना म्याकडानियलले देशभित्र विषम परिस्थिति रहे पनि रिपब्लिकनको चुनावी अभियान कुनै पनि स्थितिमा कमजोर नहुने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले पनि पार्टीभित्रबाट आफ्ना विषयमा सकारात्मक धारणा प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । फक्स न्यूज च्यानललाई आइतबार दिनुभएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले पार्टी सम्मेलनमा प्रतिनिधिहरूले आफूलाई पर्याप्त साथ, सहयोग र समर्थन गर्ने बताउनुभयो ।

विगतमा दुवै दलले चुनावी वर्ष ठूलै सभा, समारोह र भेला गर्ने प्रचलन थियो । तर यसवर्ष कोरोनाभाइरसले सबै कृयाकलापलाई स्थिर तुल्याइदिएको छ । रिपब्लिकन पार्टीबाट एक्लो उम्मेदवार रहनुभएका ट्रम्पका लागि अमेरिकाका ५० राज्यबाट आमन्त्रित ३३६ प्रतिनिधि (डेलिगेट्स) ले मात्र मतदान गर्नेछन् । हुन त रिपब्लिकन पार्टीका कूल प्रतिनिधि सङ्ख्या २ हजार ५०० भन्दा बढी छ । आमन्त्रित प्रतिनिधिका लागि ४२ पृष्ठको स्वास्थ्य तथा सुरक्षा निर्देशिका उपलब्ध गराइएको छ । चार्लोट्टेमा सम्मेलन शुरु भएपछि पार्टीका अन्य अधिकांश कृयाकलाप वासिङ्टन डिसीमा केन्द्रित हुनेछन् ।

प्रथम महिला मेलानिया ट्रम्पले रोज गार्डेनबाट मङ्गलबार सम्बोधन गर्नुहुनेछ । उपराष्ट्रपति माइक पेन्स बुधबार बाल्टिमोरस्थित फोर्ट म्याकहेन्रीबाट सम्बोधन गर्नुहुनेछ । राष्ट्रपति ट्रम्पले वासिङ्टन डिसीको साउथ लनबाट बिहीबार सम्बोधन गर्नुहुनेछ जहाँ उहाँका समर्थकहरू ठूलो सङ्ख्यामा उपस्थित हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप