त्रिपोली, भदौ १४ गते ।
लिबियामा कार्यरत संयुक्त राष्ट्रसङ्घको सहयोग नियोग (युएनएसएमआईएल) ले लिबियामा समावेशी राजनीतिक प्रक्रियालाई अघि बढाउन आवश्यकता रहेको बताएको छ ।
संयुक्त राष्ट्र सङ्घीय निकायले शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “लिबियामा घटनाक्रमले नाटकीय मोड लिन थालेको देखिएको छ । यसले लिबियामा द्वन्द्वरत पक्षहरू पूर्ण र समावेशी राजनीतिक प्रक्रियामा फर्किनुपर्ने आवश्यकतालाई जोड दिएको छ । मर्यादा र शान्तिका लागि लिबियावासीहरूको आकांक्षालाई उनीहरूको प्रतिनिधित्व गर्ने सरकारले पूरा गर्न जरुरी छ ।”
राष्ट्रसङ्घीय उक्त निकायले लिबियाली नागरिकलाई शान्त रहन, कानुनी शासनको पालना गर्न र अधिकार संरक्षणको लागि शान्तिपूर्वक आफ्नो विचार व्यक्त गर्न आग्रह गरेको छ ।
राष्ट्रसङ्घीय नियोगले लिबियाभरि मनोमानीरूपमा गिरफ्तार, नजरबन्द, आन्दोलन र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाइएको र शान्तिमय सभा र विरोधको अधिकारसहित मानव अधिकार उल्लङ्घनको रिपोर्टमा वृद्धि भएको दाबी गरेको छ ।
संयुक्त राष्ट्र सङ्घले प्रदर्शनकारीविरूद्ध राजधानी त्रिपोलीमा अत्यधिक बलको प्रयोगको साथसाथै धेरै नागरिकलाई मनोमानीरूपमा गिरफ्तार गरेकोमा चिन्ता व्यक्त गरेको छ ।
मिसनले त्रिपोलीदेखि ४५० किलोमिटर पूर्वमा अवस्थित सिर्ते सहरमा चलिरहेको मानवअधिकार उल्लङ्घन र दुब्र्यवहारका रिपोर्टप्रति पनि चिन्ता व्यक्त गरेको छ । सिर्तेमा नागरिकको अपहरणपछि हत्या र धेरैलाई मनोमानी गिरफ्तार, र निजी सम्पत्तीमा अवैध रुपमा हस्तक्षेप भएकोप्रति पनि चिन्ता व्यक्त गरिएको छ ।
सन् २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफीको पतन भएदेखि नै लिबियामा हिंसा र राजनीतिक अस्थिरता बढेको छ ।