गोरखापत्र अनलाइन
काठमाडौं, माघ २९ गते । टोक्यो ओलम्पियक आयोजक समितिका प्रमुख योशिरो मोरीले पदबाट राजिनामा गर्नुहुने भएको छ । महिलाप्रति अनुपयुक्त टिप्पणी गरेपछि उहाँको आलोचना हुँदै आएको थियो ।
८३ वर्षीय योशिरो मोरीले शुक्रबार हुने आयोजक समितिको विशेष बैठकमा राजिनामा दिनुहुने बीबीसीले उल्लेख गरेको छ । पूर्ब प्रधानमन्त्री समेत रहनुभएका मोरीले बोर्डमा रहेका महिलाप्रति टिप्पणी गर्दै भन्नुभएको थियो, “महिलाले थुप्रै कुरा गर्छन् र बोर्ड समितिमा रहेका महिलाहरुसँग बैठक गर्दा लामो समय बित्छ ।” उहाँको उक्त टिप्पणीप्रति विरोध सुरु भएको थियो । सुरुमा राजिनामा नगर्ने बताउनुभएका मोरीको उक्त भनाईप्रति विरोध तीब्र रुपमा हुन थालेपछि उहाँ राजिनामा गर्न लाग्नुभएको हो ।
ओलम्पिक खेलको प्रमुख प्रायोजक टोयोटाले समेत उहाँको टिप्पणीको आलोचना गरेको छ । टोयोटाका प्रमुख अकियो टोयोडाले मोरीको टिप्पणी ‘दुःखद’ रहेको प्रतिक्रिया दिनुभएको थियो ।
मङ्गलबार उहाँको टिप्पणीको विरोधमा केही कानून ब्यवसायि महिलाले सेतो पहिरन लगाउनुभएको थियो । मोरीको टिप्पणीपछि करिब चार सय स्वयंसेवकले ओलम्पिक खेलमा आफ्नो भूमिका फित्र्ता लिएको जनाउ दिएको थियो ।
समितिमा हाल २४ जना सदस्य छन् । जसमध्ये पाँच जना महिला छन् ।