वसिङटन, फागुन १५ गते।
साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्याको विषयमा अमेरिकी एक गुप्तचर निकायले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको छ । यहाँको अनुसन्धानबाट तयार भएको सो प्रतिवेदनमा सो हत्यामा साउदी अरेबियाका राजकुमारको हात रहेको भनी आरोप लगाइएको छ ।
गत बिहीबार खशोग्गी हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्न सक्ने बताइएको थियो र शुक्रबार सो अनुसन्धान रिपोर्ट अमेरिकामा सार्वजनिक गरिएको बताइएको छ । उक्त रिपोर्ट तयार पार्न अमेरिकी गुप्तचर विभाग सीआईएले मुख्य भूमिका निर्वाह गरेको बताइएको छ । उसले गरेको अनुसन्धानका आधारमा यो रिपोर्ट सार्वजनिक गरेको हो ।
उक्त रिपोर्टमा साउदी अरेबियाका युवराज मोहम्मद विन सलमानलाई हत्याको योजनामा संलग्न रहेको भनेर ठह¥याइएको समाचारमा जनाइएको छ । साउदी अरबका कट्टर आलोचक मानिने खाशोग्गी एक चर्चित पत्रकार तथा लेखक हुनुहुन्थ्यो । उहाँ ‘अल अरब’ न्यूज च्यानलका पूर्व प्रधान सम्पादकसमेत हुनुहुन्थ्यो भने वासिङटन पोष्टका स्तम्भकार भएर पनि काम गर्नुभएको थियो ।
खाशोग्गी साउदी अरेबियाको एक आलोचक भएपछि उहाँ सन् २०१७ को सेप्टेम्बरमा साउदी अरेबियाबाट भागेर अमेरिका पुग्नुभएको थियो । उहाँले देशबाहिर बसेर पनि साउदी अरेबिया सरकार र युवराज सलमानको आलोचना गर्दै समाचार तथा लेखहरु लेख्दै आएका बताइएको थियो ।
पछिल्लो समय वासिङटन पोस्टमा नियमित स्तम्भ लेख्दै आउनुभएका उहाँको हत्याको हत्या सन् २०१८ मा टर्कीको स्तानबुलमा भएको थियो । सन् २०१८ को अक्टोबरमा टर्कीको राजधानी स्तानबुलमा रहेको साउदी अरेबियाको दूताबासमा उहाँको हत्या भएको थियो । उहाँ टर्कीका एक महिलासँग विवाह गर्ने तयारीमा रहनुभएको बताइएको थियो ।
उहाँको हत्यापछि त्यहाँ कार्यरत आठ जनाभन्दा बढी टर्की र साउदी अरेबियाका कर्मचारीलाई पक्राउ गरी कारबाही थालिएको छ । साउदी अरेबियाको अदालतले ती पत्रकारको हत्यामा संलग्न रहेको आधारमा पक्राउ गरिएको भनिएका आठ जनामध्ये पाँच जनालाई २० वर्षको जेल सजायँ सुनाएको छ ।
त्यसैगरी अरु तीन जनालाई सात देखि १० वर्षसम्मको जेल सजायँ सुनाइएको थियो । गत सेप्टेम्बरमा उनीहरु विरुद्ध सो कारबाही सुनाइएको अधिकारीहरुले जानकारी दिएका छन् । उता शुक्रबार सार्वजनिक भएको यो रिपोर्टको साउदी अरेबियाले भने अस्वीकार गर्दै आएको छ । साउदी अरेबियाले आफ्ना राजकुमार सो हत्यामा संलग्न भएको भनी दिएको रिपोर्टमा कुनै सत्यता नरहेको बताएको छ ।