टोकियो, जेठ १३ गते।
टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई अर्का हप्तादेखि कोरोनाविरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ । जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियोमा हुन गइरहेको ओलम्पिक खेलमा सहभागी हुनुपर्ने ती प्रतिनिधि एवं खेलाडीहरुलाई आगामी जुन १ तारिखबाट खोप लगाउन शुरु गरिने भएको जानकारी दिएको छ ।
जापानको ओलम्पिक कमिटीले आगामी मङ्गलबारबाट ती प्रतिनिधिलाई खोप लगाइने भएको हो । सो ओलम्पिकमा जापानका एक हजार ६०० एथलेटिक्सका खेलाडी, सरकारी अधिकारीहरु र प्रशिक्षकहरु हुने बताइएको छ ।
उनीहरुलाई आगामी मङ्गलबारबाट टोकियोमा रहेको नेशनल ट्रेनिङ सेन्टरमा खोप दिइने बताइएको छ । ती प्रतिनिधिहरुलाई अमेरिकाको खोप निर्माता कम्पनी फाइजर आइएनसीले खोप दिने जनाएको छ ।
जापान सरकारले नागरिकलाई खोप लगाइरहेको छ । तर पनि जापानमा अहिलेसम्म जम्मा दुई प्रतिशत नागरिकलाई मात्र खोप दिइएको छ । जापानको राजधानी टोकियोमा आगामी जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म अाेलम्पिक खेलको आयोजना गरिँदैछ ।