logo
२०८१ बैशाख ३० आईतवार



दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति जुमाले सयौंपटक घुस लिएको आरोप

अन्तर्राष्ट्रिय |


दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति जुमाले सयौंपटक घुस लिएको आरोप
तस्विर-फाइल


जोहानेसबर्ग, जेठ १३ गते। दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले राष्ट्रपति हुनुभन्दा पहिले ७०० भन्दा बढी पटक घुस लिएको अनुसन्धाताहरुले आरोप लगाएका छन् ।पूर्व राष्ट्रपति जुमा विरुद्ध बुधबार भ्रष्टाचारको अभियोगमाथिको सुनुवाईका क्रममा अनुसन्धाताहरुले जुमाले फ्रान्सेली हतियार निर्माता कम्पनी थेल्सबाट नगद भुक्तानी लिएको समेत सयौं काण्डमा मुछिएको बताएका छन् ।
दक्षिण अफ्रिकाको सन् २००९ देखि २०१८ सम्म राष्ट्रपति रहनु भएका जुमा विरुद्ध भ्रष्टाचारका आरोपहरुका साथै ठगी, कर छली र सम्पत्ति शुद्धीकरण समेतका आरोप लागेका छन् । अदालतमा उहाँले आफूमाथि लागेका आरोप झुठा रहेको बताउँदै आफू विरुद्धका मुद्दाहरु राजनीतिक प्रेरित रहेको दाबी गर्नु भएको छ ।
निलो पहिरनमा अदालतमा उपस्थित हुनु भएका ७९ वर्षीय जुमामाथि लागेका आरोपहरु प्रमाणित भए २५ वर्षसम्म जेल जानु पर्ने हुन्छ ।
जुलाई १९ सम्मका लागि मुद्दाको सुनुवाई स्थगित भएसँगै जुमाले आफ्ना समर्थकलाई अदालत बाहिर सम्बोधन गर्दै आफूले कसैसँग कहिल्यै केही नलिएको र कुनै गलत कार्य नगरेको बताउनुभयो । जुमामाथि लागेका भ्रष्टाचारका आरोपहरु उहाँ राष्ट्रपति हुनुभन्दा अघिका हुन् । साथै यी आरोपहरु उहाँ सन् १९९९ देखि २००५ सम्म दक्षिण अफ्रिकाको उपराष्ट्रपति हुँदाको समयावधिका छन् ।
अभियोजकहरुका अनुसार जुमाले सन् १९९५ देखि २००५ को अवधिमा थेल्सबाट मात्र नभई विभिन्न स्रोतबाट घुस लिएका थिए । त्यस समयमा निकै लोकप्रिय उहाँ सत्तारुढ अफ्रिकन नेसनल कङ्ग्रेस पार्टीको प्रान्तीय राजनीतिबाट उपराष्ट्रपति पदमा पुग्नु भएको थियो ।
थेल्स विरुद्ध पनि मुद्दा दायर भएका छन् तर कम्पनीले आफूले स्वच्छ व्यवसाय गरेको दाबी गरेको छ । जुमा र थेल्स बिरुद्ध १८ वटा आरोप छन् । अभियोजकका अनुसार थेल्सबाट जुमाले वार्षिक करिब ४० हजार अमेरिकी डलर स्वीकारेका थिए । यसबापत जुमाले अफ्रिकी सरकारसँग हुने हतियारको बिक्री सम्बन्धी विषयमा थेल्स माथि अनुसन्धान गर्नबाट रोक्न “राजनीतिक संरक्षण” दिनु भएको अभियोजकको भनाई छ ।
तर सन् २००५ मा घुसखोरीको मुद्दा लागेपछि जुमालाई उपराष्ट्रपति पदबाट बर्खास्त पनि गरिएको थियो । तर चार वर्षपछि जुमाले पुनः दक्षिण अफ्रिकाको राष्ट्रपतिका रुपमा पुनरागमन गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप