बेइजिङ, जेठ १४ गते। पोल्यान्ड, सर्बिया, आयरल्यान्ड र हङ्गेरीका विदेशमन्त्रीहरुले चीन भ्रमण गर्न लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानका अनुसार यही मे २९ देखि ३१ तारिखका बीचमा चार देशका मन्त्रीहरुले चीन भ्रमण गर्न लाग्नुभएको हो ।
पोल्यान्डका विदेश मन्त्री जिग्निउ राउ, सर्बियाका विदेश मन्त्री निकोला सेलाकोभिच, आयरल्यान्डका विदेश तथा रक्षामन्त्री सिमोन कोभेनी तथा हङ्गेरीका विदेश तथा व्यापारमन्त्री पिटर जिगार्टो चीनको भ्रमणमा आउन लाग्नुभएको मन्त्रालयको भनाइ छ ।
चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणमा उहाँहरुले चीन भ्रमण गर्न लाग्नुभएको पनि प्रवक्ता लिजियानले बताउनुभयो ।