logo
२०८१ बैशाख ३० आईतवार



इजरायलको राष्ट्रपतिमा आइज्याक हर्जोग निर्वाचित

अन्तर्राष्ट्रिय |


इजरायलको राष्ट्रपतिमा आइज्याक हर्जोग निर्वाचित
तस्विर-वियोन


जेरुसेलम, जेठ २० गते। इजरायलको राष्ट्रपतिमा वरिष्ठ राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित हुनुभएको छ ।
देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गर्नुभएको थियो । इजरायलमा हाल रुभेन रिभलिन राष्ट्रपति हुनुहुन्छ । उहाँको कार्यकाल अर्को महिना समाप्त हुँदैछ ।
आलङ्कारिक मानिने इजरायलको राष्ट्रपतिको कार्यकाल सात वर्षको हुन्छ । हर्जोगले राष्ट्रपतिका अर्का उम्मेदवार मेरियम पेरेजलाई पराजित गर्नुभएको थियो । चुनावी नतिजा सार्वजनिक भएलगत्तै नवनिर्वाचित राष्ट्रपति हर्जोगले आफू सबै जनताको राष्ट्रपति हुने विश्वास व्यक्त गर्नुभयो । साठी वर्षीय हर्जोगले भन्नुभयो, “हामीले इजरायलको अन्तर्राष्ट्रिय छविलाई सुदृढ गर्नुपर्नेछ र इजरायल विरोधी भावनालाई हटाउन प्रयत्न गर्नुपर्नेछ । साथै हाम्रो लोकतन्त्रको स्तम्भलाई संरक्षण गर्नुपर्दछ ।”
हर्जोग यसअघि लाबोर पार्टीको पूर्व प्रमुख रहनुका साथै सन् २०१५ मा संसदमा विपक्षी दलको नेता हुनुहुन्थ्यो । उहाँ सन् २०१५ का चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरुद्धमा चुनावी मैदानमा उत्रिनु भएको थियो ।
हर्जोग इजरायलको प्रभावशाली जियोनिस्ट परिवारका सदस्य हुनुहुन्छ । उहाँका बुबा चाइम हर्जोग पनि इजरायलको राष्ट्रपति र संयुक्त राष्ट्रसङ्घका लागि इजरायली राजदूत हुनुहुन्थ्यो । उहाँका काका अब्बा एबान पनि इजरायलको पहिलो विदेशमन्त्री रहनुभएको थियो ।
अर्की उम्मेदवार ६७ वर्षीय पेरेज बढी अनुदारवादी र राष्ट्रवादी स्वभावकी हुनुहुन्छ । उहाँ मोरक्कोबाट सानैमा इजरायल बसाईँ सर्नु भएको थियो । उहाँले इजरायलमा शिक्षिका, शिक्षाकर्मी र यहूदी धर्मको बारेमा अध्यापकका रुपमा सेवा गर्नु भएको छ । उहाँका दुई छोराको इजरायली सैनिक सेवामै रहँदा मृत्यु भएको छ ।
सन् २०१८ मा उहाँलाई इजरायलको सर्वोच्च पदक “इजरायल प्राइज”बाट सम्मानित गरिएको थियो । राष्ट्रपतिमा निर्वाचित हुन इजरायली संसद नेसेटको १२० स्थानमध्ये कम्तीमा ६१ स्थान प्राप्त गर्नुपर्दछ । विजयी उम्मेदवारले आगामी जुलाई ९ बाट कार्यभार सम्हाल्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप