logo
२०८१ बैशाख ३० आईतवार



पाकिस्तानमा दुईवटा रेल जुधे, कम्तीमा ३० जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा दुईवटा रेल जुधे, कम्तीमा ३० जनाको मृत्यु
तस्विर-अलजजिरा


मुल्तान, जेठ २४ गते। पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मी एवं स्थानीय गाउँबासीले रेलका डब्बामा च्यापिएका घाइते एवं मृतकका शव बाहिर निकालेका छन् ।
मिल्लात एक्सप्रेस रेलका डब्बाभित्र अझै पनि १५ देखि २० जना यात्रु फसेका बताइएको छ । सिन्ध प्रान्तको घोट्की जिल्लाका प्रहरी प्रमुख उमर टुफैलले डब्बाभित्र थुनिएका व्यक्तिहरु उद्धारका लागि चिच्याएको सुनिएको बताउँदै ठूला मेसिनको सहायताले भग्नावशेष पन्छाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
मिल्लात एक्सप्रेस रेल आफ्नो लिकबाट बाहिरिएसँगै सर सइद एक्सप्रेस रेलले ठक्कर दिएको थियो, घोटकीका उपआयुक्त उस्मान अब्दुल्लाहले बताउनुभयो । उहाँले मिल्लात रेल कसरी लिकबाहिर उछिट्टियो भन्ने बारेमा अनुसन्धान शुरु भएको जानकारी दिनुभयो ।
अब्दुल्लाहले पछिल्लो विवरण अनुसार कम्तीमा ३० जनाको मृत्यु भएको बताउनुभयो । रेलवे अधिकारीहरुका अनुसार दुबै रेलमा गरी करिब एघार सय यात्रु सवार थिए । घाइते कतिपय यात्रुको स्वास्थ्य अवस्था निकै नाजूक रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरुको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप