गोरखापत्र अनलाइन
काठमाडौं, असार २५ गते । कोरोनाभाइरसका सङ्क्रमित संख्या बृद्धि भएपछि जापानको राजधानी टोक्यो र वरिपरिका शहरमा हुने ओलम्पिक खेलमा दर्शकको उपस्थिति नरहने बताइएको छ । ओलम्पिक मन्त्री तमायो मरुकावाले बिहीबार आयोजक र अधिकारीहरुसँगको छलफलपछि उक्त घोषणा गर्नुभएको छ ।
सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न ओलम्पिक खेल सुरु भएपछि टोक्योमा सङ्कटकाल लागू रहनेछ । प्रधानमन्त्री योशिहिदे सुगाले १२ जुलाईदेखि २२ अगष्टसम्म सङ्कटकाल लागू रहने बताउनुभएको छ । खेलको क्रममा टोक्यो र वरिपरिको शहरमा प्रशंसकलाई भेला हुन रोक लगाइएको छ ।
तर फुकुशिमा, मियागी र शिजुका लगायतको शहरस्थित रङ्गशालामा आयोजना हुने खेलमा भने कुल क्षमताको ५० प्रतिशत दर्शक राख्न पाउने ब्यवस्था गरिएको छ । जापानमा कोरोना सङ्क्रमित बढेपछि ओलम्पिक खेल नै स्थगित गर्न माग गरिएको छ ।