गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३० गते । पाकिस्तानसँग जोडिएको अफगानिस्तानको चमन सीमा क्षेत्र सुचारु भएको छ । तालिबानले उक्त सीमा आफ्नो नियन्त्रणमा लिएपछि बन्द गरिएको थियो ।
तालिबानी अधिकारीहरुले पाकिस्तानसँग वार्ता गरेपछि सीमा खुलाइएको पाकिस्तानको डाँन समाचारले उल्लेख गरेको छ । सीमा बन्द हुँदा वस्तुको आयात निर्यात ठप्प भएको थियो । तालिबानले सीमा बन्द गर्दा अफगानिस्तानका नागरिकले बिरोध गरेपछि पाकिस्तानी सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गरेको समाचार शुक्रबार सार्वजनिक भएको थियो । एक जना ५६ वर्षीय अफगानि नागरिकको पाकिस्तानबाट चमन स्पिन बोल्डक सीमा पार गर्न पर्खिरहँदा हृदयघात भएर मृत्यु भएपछि हिंसा चर्किएको थियो । पछि अफगानले पाकिस्तानको सरकारी कार्यालयमा ढुंगामूढा गर्दै सीमा खोल्न दबाब दिएको थियो ।
उक्त सीमा क्षेत्र पाकिस्तान र अफगानिस्तानको दोस्रो सबैभन्दा बढी ब्यस्त नाका हो । तालिबानले नियन्त्रणमा लिनुअघि उक्त सीमा भएर दैनिक कम्तिमा नौ सय ट्रक ओहोरदोहोर गर्दै आएको थियो ।