काबुल, साउन ३० गते। अफगानिस्तनाका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा अहिले तालिवान समूहले गतिविधि तीब्र पारेको भएपनि यसलाई छिट्टै रोकिने बताउनुभएको छ । अफगानिस्तानको आधाभन्दा बढी प्रान्तका राजधानी तालिवान समूहले नियन्त्रणमा लिएको भनी समाचार आइरहेका समय उहाँले द्वन्द्वग्रस्त आफ्नो मुलुकमा राजनीतिक अस्थिरता रोक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
“अफगानिस्तानको सुरक्षा फौजले देशको रक्षा गरेको र सेनाबीच सद्भाव सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछ,” घानीले राष्ट्रका नाममा गरेको आफ्नो छोटो टेलिभिजन सम्बोधनमा भन्नुभयो ।
उक्त सम्बोधनमा उहाँले अफगानिस्तानमा थप अस्थिरता हुन नदिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “अफगानिस्तानीहरूले युद्धका कारण दुःख पाइरहेका छन् र अफगानिस्तानका जनताको थप कष्ट रोक्न म तपाईंहरुलाई विश्वास दिलाउँछु र यो मेरो ऐतिहासिक जिम्मेवारी हो ।”
राष्ट्रपति घानीले ‘अफगानिस्तानका जनता, राजनीतिक दल तथा तीनका नेता र अन्तर्राष्ट्रिय मित्रहरूसँग परामर्श’ सुरु गरेको र परिणाम चाँडै आउने पनि बताउनुभयो । तालिबान विद्रोहीहरुले देशका ३४ प्रान्तका १९ वटा प्रान्तीय राजधानीहरु कब्जामा लिएको दावी गरिरहेका समय राष्ट्रपतिको यो भनाई आएको हो ।