गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३१ गते । अफगान सरकारले शान्तीपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबानसँग वार्ता गर्ने भएको छ । बिद्रोही तालिबानले राजधानी शहर काबुल चारैतिरबाट घेराबन्दी गरेपछि दुबै पक्ष शान्तीपूर्ण शक्ति हस्तान्तरणको प्रयास स्वरुप छलफलमा जुटन सहमत भएका हुन ।
अलजजिराका अनुसार तालिबानले बल प्रयोग गरेर काबुल नियन्त्रणमा लिन नचाहेको बताएको छ । तालिबानले एक वक्तब्य जारी गरी आफ्ना लडाकूलाई हिंसा नगर्न र काबुल छोड्न चाहनेलाई निर्वाद छोड्न दिन निर्देशन दिएको जनाएको छ । तालिबानका एक जना अधिकारीले ट्वीट गर्दै सङ्क्रमणकाल नटुंगिएसम्म काबुलको सुरक्षा सरकारी अधिकारीमा रहेको बताएका छन् । लगत्तै अफगान सरकारले रक्तपात टार्न र शान्तीपूर्ण सत्ता हस्तान्तरणका लागि सहमतिको प्रयास भइरहेको संकेत गरेको छ ।