गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३२ गते । हाइटीमा शनिबार बिहान गएको भूकम्पमा परेर मृत्यु हुने संख्या एक हजार २९७ पुगेको छ । हाइटीमा शनिबार ७.२ रिक्टेर स्केलको भूकम्प गएको थियो । उद्धार कार्य अझै जारी रहेको छ ।
अधिकारीहरुका अनुसार कम्तिमा पाँच हजार ७०० जना भूकम्पपछि भग्नावशेषमा पुरेर घाइते भएका छन् । हराइरहेका ब्यक्तिको संख्या अझै यकीन हुन सकेको छैन् । भग्नावशेषमा फसेकाहरुको अझै उद्धार कार्य जारी रहेको छ । भत्केको होटेल, घर तथा विद्यालयबाट जिवितै उद्धार गर्न सकिने आशामा उद्धार कार्य सञ्चालनमा रहेको बताइएको छ ।
भूकम्पबाट हाइटीको दक्षिण पश्चिमी भाग सबैभन्दा बढी प्रभाबित भएको छ । लेस काएस शहरमा सबैभन्दा बढी क्षति भएको बीबीसीले उल्लेख गरेको छ ।
शनिबार गएको भूकम्पको केन्द्र सैन्ट लुईस डु सुड शहरबाट १२ किलोमिटरको दूरीमा पर्छ ।