गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३ गते । उत्तरी बुर्किनाफासोमा विद्रोही समूहको आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । जसमध्ये ३० जना सर्वसाधारण छन् । मृतकमध्ये १४ जना प्रहरी, तीन जना सरकार समर्थक लडाकू रहेको अलजजिराले उल्लेख गरेको छ ।
सरकारी सञ्चारमाध्यमले भने सेनाले १६ जना विद्रोही मारिएको जनाएको छ । अलकायदा र आईएसआईएलसँग सम्बन्धित लडाकू सङ्गठनले बुर्किना फासो, माली र नाइजरमा सयौं सर्वसाधारणको हत्या गरेको छ । हतियारधारी समूहको आक्रमणमा गत् साता मात्रै उत्तर पश्चिमी बुर्किना फासोमा कम्तीमा १२ जना सिपाहीको मृत्यु भएको थियो । ३० जना सर्वसाधारण मारिएका थिए । नाइजरमा समेत गत सोमबार १४ जना बालबालिकासहित ३७ जना सर्वसाधारण विद्रोहीको आक्रमणमा मारिएका थिए । गाउँमाथि नै आक्रमण गरेर विद्रोही सङ्गठनले रक्तपात मच्चाएका थिए ।