गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ४ गते । न्युजिल्याण्डमा कोरोनाभाइरसको डेल्टा स्वरुपको ११ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । थपिएका सङ्क्रमितसँगै अकल्याण्ड शहरमा समुदायमा ३० जना सङ्क्रमितको पुष्टि भएको हो ।
न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना पुष्टि भएका सबै सङ्क्रमित आइसोलेशनमा राखिएको जनाएको छ । थपिएका सङ्क्रमितमध्ये आठ जना अकल्याण्डका र तीन जना वेलिंग्टनका रहेका छन् । अकल्याण्डमा पुष्टि भएका सङ्क्रमित अष्ट्रेलियाबाट न्युजिल्याण्ड आएकासँग सम्बन्धित छन् । अगष्ट सातमा अष्ट्रेलियाको सिड्नीबाट आएका एक जनामा पहिलो पटक सङ्क्रमणको पुष्टि भएको थियो ।
न्युजिल्याण्डले साताको सुरुवातमा एक जना नयाँ सङ्क्रमित थपिँदा लेभल चारको राष्ट्रब्यापी लकडाउनको घोषणा गरेको थियो ।