logo
२०८१ मंसिर १५ शनिवार



सरकार गठनको तयारी गर्न राष्ट्र संघको खोजी सूचीका कमाण्डर काबुल पुगे

अन्तर्राष्ट्रिय |


सरकार गठनको तयारी गर्न राष्ट्र संघको खोजी सूचीका कमाण्डर काबुल पुगे
तस्विर–लाँस एन्जेलस टाइम्स


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ५ गते । संयुक्त राष्ट्र संघ र संयुक्त राज्य अमेरिकाको खोजी सूचीमा रहेका तालिबानका सह संस्थापक एवम कमाण्डर काबुल आइपुग्नुभएको छ । हक्कानी नेटवर्कका सञ्चालक समेत रहनुभएका खलिल हक्कानी काबुल पुग्नुभएको बीबीसीले उल्लेख गरेको छ ।
हक्कानीले काबुलमा सम्बोधन गरिरहेको तस्विर सार्वजनिक भएको छ । तस्विरमा हक्कानीको वरिपरि हतियारधारी समूहले सुरक्षा दिइरहेको देखिएको छ । हक्कानीले मस्जिदमा प्रार्थनाका लागि भेला भएकालाई सम्बोधन गरिरहेको बताइएको छ । सामाजिक सञ्जाल ट्वीटरमा तालिबान अधिकारीलाई उद्धृत गर्दै ट्वीटर प्रयोगकत्र्ताले काबुलको सबैभन्दा ठूलो मदरसा पुल–ए–खेस्तीमा हक्कानीले सम्बोधन गरेको तस्विर साझा गरेका छन् ।
हक्कानी अमेरिकाको सर्बाधिक खोजी सूचीमध्येका एक हुन । अमेरिकाले हक्कानीको टाउको ल्याउनेलाई पचास लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । हक्कानी यसअघि नै मृत्यु भइसकेका जलालुद्दीन हक्कानीका भाइ हुनुहुन्छ । हक्कानी नेटवर्क अफगानिस्तानको एक शक्तिशाली लडाकू समूह हो । अफगान सुरक्षाकर्मी र अमेरिकी सैन्य गठबन्धन बिरुद्ध हक्कानीले अत्यन्तै हिंसात्मक आक्रमण समेत गरेको थियो ।
साताको सुरुवातमा अफगानिस्तानको राष्ट्रिय मेलमिलाप परिषद्का प्रमुख अब्दुल्लाह अब्दुल्लाहले हक्कानीसँग बैठक गरेको तस्विर सार्वजनिक भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?