द हेग, भदौ १० गते।
अफगान तालिबान समूहको नियन्त्रणमा आइसकेको अवस्थामा अफगानिस्तानमा आफ्ना र अफगानिस्तानी केही नागरिक छोडेमा यसको असर ‘भयानक’ हुने नेदरल्याण्डले बताएको छ ।
तालिबानद्वारा अफगान राजधानीमा कब्जा भएपछि विकसित घटनाक्रमले तत्काल उद्धार उडान रोक्न नहुने नेदरल्याण्डका अधिकारीको तर्क छ । विकसित पछिल्लो परिस्थितिका कारण काबुलको विमानस्थलमा असुरक्षा बढेको भन्दै अमेरिकाले उद्धारमा रहेका डच अधिकारीलाई काबुल छोड्न आग्रह गरेको प्रधानमन्त्री मार्क रूटले पुष्टि गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “अगष्ट ३१ मा अमेरिकी सेना फिर्ता हुनुभन्दा अगावै अमेरिकी सेनाले डचलाई काबुल विमानस्थल छाड्न आदेश दिएको छ । यसले सुरक्षा स्थिति चिन्ताजनक रहेको बुझ्न सकिन्छ ।”
रूटले एनओएस टेलिभिजनसँग भन्नुभयो, “अमेरिकी अधिकारीहरूले हामीलाई आफ्नो काम सिध्याउन भनेका छन् । यो चिन्ताजनक कुरा हो ।” “वास्तविकता के हो भने हामी तत्कालको लागि उद्धारको अवश्यकता रहेका डच नागरिक र उनीहरूका परिवार वा अन्य मानिसहरूलाई ल्याउन असमर्थ छौँ ।”
काबुल तालिबानको कब्जामा गएदेखि नेदरल्याण्ड्सले एक हजार ५०० व्यक्तिहरूलाई उद्धार गरेको छ । काबुलमा रातारात विमानस्थलमा बसमार्फत् पुगेका थप ११८ जना स्थानीय समय अनुसार सकुशल नेदरल्याण्ड पुगेका छन् ।
अफगानिस्तानमा उद्धार गर्न बाँकी डच मानिसहरूको सङ्ख्या अहिलेसम्म ‘स्पष्ट छैन’ उहाँले भन्नुभयो । “तालिवान समूहको धम्कीका कारण गएको केही घण्टामा विमानस्थलको अवस्था नराम्ररी खस्किएको छ । मानिसहरू आत्तिएका छन् ।”
“डचहरू फ्रान्स र बेल्जियमसँग सम्पर्कमा थिए तर उनीहरूले पनि उद्धार कार्य रोक्ने घोषणा गरेका छन् । बेलायत र जर्मनीले अरू के गर्न सकिन्छ भनी हेरिरहेको छन् ।” डच सरकारले काबुलबाट “सबै सम्भाव्यताबीच आज अपरान्ह्सम्म अन्तिम उडान भर्ने” घोषणा गरेको छ ।
विदेश मन्त्री सिग्रिड काग र रक्षा मन्त्री अङ्क बिज्लेभदले संसदलाई लेखेको पत्रमा भन्नुभयो, “यो एउटा पीडादायी क्षण हो किनभने यसको मतलब हालैका सबै प्रयासकोबावजुद नेदरल्याण्ड्समा उद्धारका लागि योग्य मानिसहरू छुट्नेछन् ।” काबुल विमानस्थलमा डच राजदूतावास र ९० शक्तिशाली सैन्य टोली पनि बिहीबारको अन्तिम विमानमा उड्ने बताइएको छ ।
आकस्मिक अवस्थामा एउटा सी–१३० हर्कुलिज त्यस क्षेत्रमा रहने छ ।
अगस्त ३१ भन्दा अगाडि अमेरिकी सेनाको ठूलो सङ्ख्या तथा उपकरणहरूलाई अफगानिस्तानबाट फिर्ता गर्न लागिएकाले अमेरिकाले सहयोगी अन्य राष्ट्रलाई काबुल छोड्न भनेको डच अधिकारीले बताएका छन् ।