गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १२ गते । केही अघिसम्म अफगानिस्तानको सञ्चार मन्त्रीको जिम्मेवारीमा रहनुभएका सैएद सदात गत् डिसेम्बर महिनामा जर्मनीको लेप्जिग पुग्नुभयो । पूर्बी जर्मनीको लेप्जिगमा अफगानिस्तानका पूर्ब सञ्चार मन्त्रीले उज्जवल भविष्यको खोजीमा साइकलमा पिज्जा पुर्याउने काम सुरु गर्नुभएको छ ।
“सरकारमा दुई वर्षसम्म महत्वपूर्ण मन्त्रालय सम्हालेकोले परिवारका केही सदस्यले आफूले सुरु गर्न लागेको कामलाई लिएर सुरुमा आलोचना गरे ।” – रोयटर्ससँगको कुराकानीमा बताउनुहुँदै उहाँले आफूलाई कुनै प्रकारको दोष महसुस नभएको थप्नुभयो । बेलायत र अफगानिस्तानको दोहोरा नागरिकता लिनुभएका ४९ वर्षीय सैएदले राजनीतिज्ञले लुक्नुभन्दा नागरिकको बीचमा रहेर काम गर्नुपर्ने सुझाउनुहुन्छ ।
राष्ट्रपति अशरफ घानीका सल्लाहकार वृत्तसँग असमझदारी उत्पन्न भएपछि उहाँले राजिनामा दिनुभएको थियो । राजधानी काबुल तालिबानले नियन्त्रणमा लिएपछि उहाँलाई अनुशरण गर्दै पछ्याउनेको संख्या बढ्दो छ । हजारौं अफगान काबुल छोडेर विदेश पलायन हुन उत्सुक छन् ।
अधिकांश समय बेलायतमा बिताउनुभएका सैएदले सन् २०२० को अन्त्यतिर मात्रै जर्मनीमा सर्नुभयो । बेलायत यूरोपेली संघबाट बाहिरिदा उहाँले आफ्नो अन्तिम अबसरको रुपमा जर्मनी सर्न रोज्नुभयो । जर्मनी रोज्नुको कारणबारे उहाँले टेलिकम र सूचना प्रबिधि क्षेत्रमा दीर्घकालीन रुपमा सेवा गर्ने लक्ष्य राखेको खुलाउनुभयो । बेलायतको अपेक्षा जर्मनीको आर्थिक स्थिति मजबूत हुने उहाँले आँकलन गरेर जर्मनी सर्नुभयो ।
जर्मनीमा सूचना प्रबिधि क्षेत्रमा काम खोजेपनि उहाँले अबसर पाउनुभएन । सूचना प्रबिधिमा उहाँले स्नातकोत्तर गर्नुभएको छ । सैएदले भाषा सबैभन्दा महत्वपूर्ण रहेको बताउनुहुन्छ । उहाँले प्रत्येक दिन बिहान चार घण्टा जर्मन भाषाको कक्षा लिनुभएको छ । बेलुकी छ घण्टा उहाँले साइकलमा पिज्जा पुर्याउने काम गर्नुभएको छ ।