गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १५ गते । पाकिस्तानले अमेरिकी सेना लामो समयसम्म नबस्ने प्रष्ट्याएको छ । अफगानिस्तानबाट फर्केको अमेरिकी सेना सीमित अवधिका लागि मात्रै बस्ने उसले प्रष्ट्याएको हो ।
पाकिस्तानको इस्लामाबाद विमानस्थलमा अमेरिकी सेना अवतरण गरेको तस्विर सार्वजनिक भएपछि आन्तरिक मामिला मन्त्री शेष राशिद अहमदले अमेरिकी सेनाको उपस्थिति अल्पकालीन मात्रै रहेको प्रष्ट्याउनुभएको हो । द हिन्दूका अनुसार डान समाचारसँग कुराकानी गर्नुहुँदै मन्त्री अहमदले अफगानिस्तानबाट फर्केका अमेरिकी सेना ट्रान्जिट भिसामा इस्लामाबाद बस्ने बताउनुभयो । ट्रान्जिट भिसाको अवधि २१ देखि ३० दिन छ ।
स्रोतका अनुसार दुई हजार १९२ जना तोर्खाम सीमा भएर प्रवेश गरेको र एक हजार ६२७ जना विमानबाट इस्लामाबादमा अवतरण गरेका हुन् । केही सङ्ख्यामा चमन सीमा भएर आएको मन्त्री अहमदले बताउनुभएको छ ।
उहाँले अफगानिस्तानबाट बहिर्गमनको क्रममा केही समयका लागि ‘होल्ड’ मात्रै गर्न लागेको बताउनुभयो । इस्लामाबादमा पर्खिने सबैको खर्च बहिर्गमन प्रक्रियामा सहभागी राष्ट्रले खर्चिने आन्तरिक मामिला मन्त्री अहमदले बताउनुभयो ।
अफगानिस्ताबाट बाहिरिने क्रममा अमेरिकाले कतार, यूएई लगायत अन्य राष्ट्रको विमानस्थल प्रयोग गर्दै बाहिरिएकालाई सीमित अवधिका लागि राख्दै आएको छ ।