गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १७ गते । अमेरिकामा गएको छ महिनाभित्र एक करोड ५१ लाखभन्दा बढी कोरोना विरुद्धको खोप फालिएको छ । गत मार्च एकदेखि हालसम्म उक्त परिमाणमा खोप फालिएको अमेरिकी रोग नियन्त्रण केन्द्र(सीडीसी)ले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चार वटा राष्ट्रिय औषधि सञ्जालको दश दश लाख डोज खोप खेर गएको छ । अमेरिकाको विभिन्न राज्यमा खोप आपूर्ति गर्दै आएको वालग्रिन्सको मात्रै २६ लाख खोप खेर गएको छ । सीभीएसको २३ लाख डोज खोप खेर फालिएको छ । वाल्मार्टले १६ लाख डोज खोपको उपयोग गर्न सकेन । राइट एडले करिब ११ लाख खोप खेर फाल्नुपरेको छ ।
रोग नियन्त्रण केन्द्रले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । सम्बन्धित औषधि आपूर्तिकर्ताले नै उपलब्ध गराएको तथ्याङ्कलाई सीडीसीले एकमुष्ठ सार्वजनिक गरेको हो । तर केन्द्रले खोप फाल्नुको कारणबारे केही खुलाएको छैन् । समृद्ध राष्ट्रले कोभिड १९ विरुद्धको खोप अभियान तीव्र रुपमा सञ्चालन गर्दै आएका छन् । विपन्न तथा न्यून आय भएका राष्ट्रले भने अझै खोपका लागि सम्पन्न राष्ट्रको अनुदानमा निर्भर रहँदा अमेरिकामा एक करोड ५० लाखभन्दा बढी डोज खोप खेर फालिएको घटना बाहिरिएको हो ।