गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १७ गते । तालिबानको राजनीतिक कार्यालयका उपप्रमुखले कतारका लागि टर्कीका राजदूतसँग भेटवार्ता गर्नुभएको छ । उपप्रमुख शेर मोहम्मद अब्बास स्तानेकजैले टर्कीका राजदूत मुस्तफा गोक्सुसँग दोहामा भेटवार्ता गर्नुभएको हो ।
तालिबानका प्रवक्ता मोहम्मद नदीमले भेटमा टर्कीका राजदूतले अफगानिस्तानसँगको आफ्नो सम्बन्ध र सम्बन्धलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको बताउनुभएको छ । तालिबानले काबुल नियन्त्रणमा लिएपछि हिंसात्मक घटनामा कमी आएपनि आर्थिक समस्या चुलिनुका साथै सर्वसाधारणको त्रास अझै हटन नसकेको बताइएको छ ।
तालिबानले अफगानिस्तानमा नयाँ सरकार गठन सम्बन्धमा समेत छलफल केन्द्रित भएको बताउँदै छिट्टै घोषणा हुने जनाएको छ । तालिबानले यसअघि नै अफगानिस्तानमा विभिन्न प्रान्तका गर्भनर, प्रहरी प्रमुख, प्रान्तीय प्रहरी कमाण्डर नियुक्त गरिसकेको छ ।