गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १८ गते । न्युजिल्याण्डको अकल्याण्डस्थित एक सुपरमार्केटमा छ जनामाथि आक्रमण गर्ने एक आतङ्कवादी प्रहरीको कारबाहीमा मारिएका छन् । मारिएका ब्यक्ति आतङ्कवादी संगठन आईएसआईएससँग सम्बन्धित रहेको जनाइएको छ ।
प्रधानमन्त्री जसिन्दा अर्डेनले आक्रमणमा छ जना घाइते भएको सञ्चारमाध्यमहरुसँगको कुराकानीमा खुलाउनुभएको छ । सुपरमार्केटमा प्रबेश गरेका ब्यक्तिले चक्कू प्रहार गरेर छ जनालाई घाइते बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ ।
आक्रमणमा संलग्न भनिएका ब्यक्ति श्रीलङ्काली रहेको र प्रहरीबाट मारिएको बताइएको छ । प्रधानमन्त्री अर्डेनले घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भिर रहेको बताउनुभएको छ । प्रधानमन्त्री अर्डेनले सन् २०११ मा न्युजिल्याण्ड आएका उक्त ब्यक्तिलाई प्रहरीले कडा निगरानीमा राख्दाराख्दै आक्रमणमा संलग्न भएको खुलाउनुभयो । सुपरमार्केटबाटै ब्यक्तिले चक्कू लिएर अन्धाधुन्ध प्रहार गरेको बताइएको छ ।