गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २२ गते । तालिबानले अफगानिस्तानबाट प्रसारण र प्रकाशन हुने सञ्चारमाध्यमलाई अहमद मसौदको सन्देश र सूचना सम्प्रेषण र प्रवाह गर्न रोक लगाएको छ । अहमद मसौद अफगानिस्तानको पञ्जशीर उपत्यकामा तालिबानलाई रोक्न गठन गरिएको नेशनल रेसिसटेन्स फ्रन्टका नेता हुनुहुन्छ ।
रुसबाट प्रकाशन हुने स्पुतनिकले सोमबार अहमद मसौदको अपील प्रकाशन गर्दै तालिबान बिरुद्ध राष्ट्रिय रुपमा प्रतिरोध अभियान चलाउनुपर्ने समाचार प्रकाशन गरेको थियो । अल अरबिया समाचारमा फ्रन्टका एक जना नेतालाई उद्धृत गर्दै स्पुतनिकले तालिबानले मसौदबारेको समाचार प्रकाशन गर्न रोक लगाएको उल्लेख गरेको छ ।
समाचारमा तालिबानले पूर्ब राष्ट्रपति हामिद कारजाई र राष्ट्रिय मेलमिलाप परिषद्का प्रमुख अब्दुल्लाह अब्दुल्लाहलाई समेत नागरिकसँग भेटघाट गर्न रोक लगाइएको दाबी गरिएको छ । मसौदले सोमबार अफगान सञ्चारमाध्यमलाई पठाएको एक अडियो सन्देशमा राष्ट्रको हित, स्वतन्त्रता र समृद्धीका लागि तालिबान बिरुद्ध एकजुट भएर उभिने अपील गर्नुभएको थियो ।