गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । सुरक्षाकर्मीले उत्तरी इराकमा चलाएको कारबाहीमा चार जना इस्लामिक स्टेटका आतङ्ककारी मारिएका छन् । इराकको किरकुक शहरमा सुरक्षाकर्मीले खोज तलास गर्ने क्रममा मुठभेड भएको एएनआईले जनाएको छ ।
इराकी सेना र आतङ्क प्रतिरोध सेवा(सीटीएस)को संयुक्त कारबाही किरकुक प्रान्तको अल्तुन कुप्री शहरमा सञ्चालन गरिएको हो । उक्त शहर किरकुकको प्रान्तीय राजधानीभन्दा ४० किलोमिटर उत्तरमा पर्छ । सङ्घीय प्रहरी चौकीमाथि आईएसले आत्मघाती आक्रमण गरेको दुई दिनपछि सेनाले संयुक्त कारबाही चलाएको हो । बगदादभन्दा २३० किलोमिटर उत्तरमा रहेको सङ्घीय प्रहरी चौकीमाथि आईएसले गरेको आक्रमणमा कम्तसीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।