logo
२०८१ मंसिर १३ बिहीवार



मोरक्कोमा तल्लो सदन र स्थानीय तहको निर्वाचन

अन्तर्राष्ट्रिय |


मोरक्कोमा तल्लो सदन र स्थानीय तहको निर्वाचन
तस्विर-फाइल


राबात, भदौ २३ गते।
मोरक्कोमा तल्लो सदनका सदस्य र स्थानीय तहका प्रतिनिधि चयनका लागि बुधबार मतदान भएको छ । निर्वाचनका लागि देशभरी झन्डै एक करोड ७५ लाख आधिकारीक मतदाता रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।
कोरोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै मतदान केन्द्रहरू तोकिएको र मतदान केन्द्रहरूमा भीडभाड नहुने व्यवस्था गरिएको अधिकारीहरूको भनाइ छ । स्थानीय समयअनुसार बुधबार बिहान ८ बजेदेखि मतदान सुरु भएको थियो भने बेलुका ७ बजेसम्म मतदान गर्न सकिने समय तोकिएको थियो ।
मतदान सुरु हुनु अगाडिदेखि नै धेरै मतदान केन्द्रहरूमा मतदाताहरू मतदानका लागि पङ्क्तिमा बसेर प्रतिक्षा गरेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् । मतदान सकिएपछि बुधबार राति नै निर्वाचनको नतिजा सार्वजनिक गर्न सकिने गरी तयारी भएको निर्वाचन अधिकृतहरूले जनाएका छन् ।
तल्लो सदनका लागि देशभरीबाट अहिलेको निर्वाचनबाट ३९५ जना छानिने भएका छन् । त्यसैगरी स्थानीय प्रतिनिधिका रूपमा भने झन्डै ३१ हजार जना चुनिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनका लागि मोरक्कोका मात्रै झण्डै चार हजार ५०० र विदेशी झण्डै १०० निकायका पर्यवेक्षकहरू खटिएका थिए ।
निर्वाचन आयोगले प्रान्तीय परिषद्को निर्वाचन यही सेप्टेम्बर २१ र माथिल्लो सदनको निर्वाचन अक्टोबर ५ मा गर्ने तयारी पनि गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?