काठमाडौं, भदौ २५ गते।
बेलायतमा एकैदिन कोरोना भाइरसका ३८ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन्। पछिल्ला केही दिनयता भाइरसका सङ्क्रमित थपिने क्रम बढ्दै गएको पाइएको छ । शुक्रबार ३८ हजार भन्दा पनि बढी सङ्क्रमित पाइएको बताइएको हो ।
गएको २४ घण्टामा ३८ हजार १३ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन् । यो समेत गरी बेलायतमा सङ्क्रमित हुनेको सङ्ख्या ७१ लाख ३२ हजार ६२ जना पुगेको जानकारी दिइएको छ । गएको २४ घण्टामा १६७ जनाको कोरोनाकै कारण निधन भएको पनि बताइएको छ । लामो समयपछि एकै दिन यतिधेरै मानिसको निधन भएको हो ।
पछिल्ला केही हप्तामा सङ्क्रमित थपिने र मृत्यु हुनेको सङ्ख्या पनि बढेको बताइएको छ । तर धेरै पछि एकै दिन १६७ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन् । भाइरसबाट एक लाख ३३ हजार ८८१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि पनि भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ । त्यसैले सरकारले सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरिरहेको छ ।