गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । भारतमा गएको चौबीस घण्टामा २८ हजार ५९१ नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । यसअघि दैनिक थपिने सङ्क्रमित औसतमा ३५ हजार पुगेको थियो ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड ३२ लाख ३६ हजार ९२१ पुगेको छ । भारतमा हाल तीन लाख ८४ हजार ९२१ जना सक्रिय सङ्क्रमित छन् । थपिएका सङ्क्रमितमध्ये २० हजार ४८७ जना केरला राज्यका छन् ।
गएको चौबीस घण्टामा ३४ हजार ८४८ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन करोड २४ लाख नौ हजार ३४५ जना निको भएका छन् । गएको चौबीस घण्टामा ३३८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना सङ्क्रमणले चार लाख ४२ हजार ६५५ जनाले ज्यान गुमाएका छन् ।