गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । संयुक्त राष्ट्र संघको परमाणु कार्यक्रम सम्बन्धी पर्यवेक्षण गर्ने निकायका प्रमुख र इरानको परमाणु कार्यक्रम प्रमुखबीच परमाणु सन्धी संकट टार्ने सहमति भएको छ । सन् २०१५ को इरानसँगको परमाणु सन्धी पुर्नस्थापना गर्ने दुबै जनाबीच सहमति भएको बताइएको छ ।
अन्तर्राष्ट्रिय परमाणविक ऊर्जा केन्द्र(आईएईए)का महानिर्देशक रफैल ग्रोसी सहमतिका लागि शनिबार अबेर इरानको राजधानी तेहरान पुग्नुभएको छ । उहाँले आइतबार बिहानै इरानको परमाणु कार्यक्रमको प्रमुखमा नवनियुक्त मोहम्मद इस्लामीसँग भेटवार्ता गर्नुभएको अलजजिराले जनाएको छ । इरानको राष्ट्रपतिमा इब्राहिम रईसी निर्वाचित भएपछि ग्रोसीको यो पहिलो तेहरान यात्रा हो ।
दुबै पक्षले बैठकलाई रचनात्मक भएको प्रतिक्रिया दिएका छन् । आईएइए र इरानको परमाणु केन्द्रले यसै महिनाको अन्त्यमा भियानामा हुन लागेको अन्तर्राष्ट्रिय परमाणु केन्द्रको सम्मेलनमा उक्त विषय प्रवेश गराउन सहमत भएको जनाएको छ । दुबै पक्ष आईएइएका प्रमुख ग्रोसीले छिट्टै पुनः इरानको भ्रमण गर्न सहमत भएका छन् ।