गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २९ गते । भारतमा दैनिक थपिने सङ्क्रमितमा कमी आएको छ । गएको चौबीस घण्टामा २५ हजार ४०४ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । थपिएका सङ्क्रमितमध्ये केरला राज्यका मात्रै १५ हजार ५८ जना छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३२ लाख ८९ हजार ५७९ पगेको छ । भारतमा हाल तीन लाख ६२ हजार २०७ जना सक्रिय सङ्क्रमित छन् । गएको चौबीस घण्टामा ३७ हजार १२७ सङ्क्रमित निको भएका छन् । हालसम्म तीन करोड २४ लाख ८४ हजार १५९ जना कोरोनामुक्त भएका छन् ।
गएको चौबीस घण्टामा ३३९ जना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु भएकामध्ये केरला राज्यका ९९ जना छन् । भारतमा हालसम्म कोरोना सङ्क्रमणबाट चार लाख ४३ हजार २१३ जनाले ज्यान गुमाएका छन् ।