फ्रिटाउन, कात्तिक २२ गते । सिएरा लिओनमा तीनदिने राष्ट्रिय शोक घोषणा गरिएको छ । राष्ट्रपति जुलिउस माडा बायोले तीन दिने शोकको घोषणा गर्नुभएको हो । यही सोमबार, मङ्गलबार र बुधबार देशभरी शोक मनाइने भएको छ । गत शनिवार इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा १०८ जनाको मृत्यु भएकाले राष्ट्रिय शोक मनाइने भएको हो । शोकको बेलामा कुनै औपचारिक र रमाइला कार्यक्रम नगरिने अधिकारीहरुले जनाएका छन् ।
राष्ट्रपति बायोले अस्पतालमा उपचार गराइरहेका घाइतेहरुलाई समेत भेटेर उपचारको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । अस्पतालमा उपचार भइरहेका मध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन् ।उहाँले घटनाका बारेमा निष्पक्ष छानबिन गरी दोषीलाइ कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
“हामीले यो दुर्भाग्यपूर्ण घटनाबाट सिक्नुपर्दछ, आगामी दिनमा यस्तो घटना हुन नदिनका लागि अपनाउनुपर्ने उपायहरु अपनाउनुपर्दछ,” उहाँले भन्नुभयो । अर्को एउटा सवारी साधनसँग ट्याङ्कर ठोक्किएपछि आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदल यात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन् ।
शनिबार बिहान किनबेचका लागि सयौँ मानिसको भीड सडकमा लागेको बेला दुर्घटना भएकाले धेरै मानवीय क्षति भएको जनाइएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरुले अनुमान गरेका छन् ।