संयुक्त राष्ट्रसङ्घ, मङ्सिर २१ गते । अफगानिस्तानमा जाडो मौसमका लागि मानवीय सहयता प्रदान गरिएको छ । यहाँ संयुक्त राष्ट्रसङ्घको पहल र समन्वयमा केही समयदेखि नै यस्तो सहयता प्रदान गरिएको छ ।संयुक्त राष्ट्रसङ्घको मानवीय सहयतासम्बन्धी एजेन्सी ओचाका अनुसार यहाँ संयुक्त राष्ट्रसङ्घीय साझेदार निकायहरुले मानवीय सहयता वितरणको कार्यको समन्वय गरिरहेका छन् ।
सोही निकायको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ । यसरी गरिएको सहायतामा गत हप्ता मात्र नानगाहार प्रान्तका ८१ हजार जनाले यस्तो सहयता प्राप्त गरेका हुन् । त्यसैगरी कुनार, नुरिस्तान र पाक्टिया क्षेत्रका करिब २ लाख ८४ हजार जनाले दुई हप्तायतादेखि मानवीय सहयता र विशेषगरी जाडो मौसमका लत्ताकपडा तथा खाना प्राप्त गरेका छन् ।
अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घलगायत विश्वका विभिन्न दाता राष्ट्रहरुले यहाँ मानवीय सहायतासम्बन्धी सामग्री पठाइरहेका छन् ।यी सामग्रीहरुमा विशेषगरी खाद्य सामग्री र लत्ताकपडा छन् । यहाँका प्रायः सबै ३४ प्रान्तकै नागरिकका लागि यो सामग्री पठाइएको हो ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायका अनुसार यहाँ यस्तो आवश्यकता परेका नागरिकलाई सहायता उपलब्ध गराइएको छ ।यहाँ मानवीय सहायता उपलब्ध गराउने कार्यलाई संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा ठूलो अभियानको मानवीय सहायताका रुपमा लिएको छ ।संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानका प्रायः सबै प्रान्तमा देशैभरि नै नागरिकलाई यस्तो सहयोग आवश्यक रहेको जनाएको छ ।
यहाँ इरान र चीनले पनि यस्तो सामग्री पठाएका छन् । इरान र चीनले खाद्य सामग्रीहरु अफगानिस्तानको काबुल विमानस्थलमा जहाजमार्फत लगेका थिए । अफगानिस्तानका विद्रोही तालिबानीहरुले यहाँको सत्ता कब्जा गरेपछि अफगान नागरिकलाई खाद्यान्नलगायतका सामग्रीको खाँचो परेको बताइएको छ ।