लन्डन, मङ्सिर २८ गते । बेलायतमा ओमिक्रोन भेरियन्टबाट कम्तीमा एक जनाको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार पुष्टि गर्नुभएको छ । ओमिक्रोन भेरियन्टको कारण अस्पतालमा भर्नाहरुमा कम्तीमा एक बिरामीको मृत्यु भएको पुष्टि भएको छ,प्रधानमन्त्रीले पश्चिम लन्डनको प्याडिंगटनमा रहेको खोप क्लिनिकको भ्रमणको क्रममा भन्नुभएको छ ।
यसअघि बेलायती स्वास्थ्य सचिव साजिद जाविदले ओमिक्रोनका १० जना बिरामी अस्पतालमा रहेको बताउनुभएको छ । अस्पतालमा भर्ना भएकाहरुको मृत्युदर बढ्नसक्ने चेतावनी दिनुभएको थियो । युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार उनीहरुको उमेर १८ देखि ८५ बीचमा छ ।बेलायती स्वास्थ्य सचिवले ओमिक्रोन भेरियन्ट असाधारण दरमा फैलिरहेको पनि चेतावनी दिनुभएको छ । सङ्क्रमणहरू प्रत्येक दुईदेखि तीन दिनमा दोब्बर हुँदै गइरहेको छ । यसको फैलावटको दर “हामीले पहिले कहिल्यै नदेखेको कुरा हो’ उहाँले भन्नुभएको छ ।
बेलायतमा हिजो एक दिनमा ५४ हजार ६६१ जना नयाँ कोरोनाभाइरस सङ्क्रमित देखापरेका छन् यसैसँगै एक करोड ८७ लाख तीन हजार ४६८ जना पुगेको सोमबार जारी गरिएको आधिकारिक तथ्याङ्कमा जनाइएको छ । यसै अवधिमा कोरोनाभाइरस सङ्क्रमणको कारण ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट बेलायतमा एक लाख ४६ हजार ४७७ जनाको मृत्यु भएको छ । अझै पनि बेलायतमा सात हजार ३७२ जना अस्पतालमा नै उपचाररत छन् ।