न्युयोर्क, मङ्सिर २९ गते । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ८ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ । यहाँ यो भाइरसबाट मृत्यु हुनेको सङ्ख्या मङ्गलबार ८ लाख नाघेको यहाँका स्वास्थ्य अधिकरीहरुले पनि स्पष्ट गरेका छन् । मङ्गलबार यहाँ यो भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ८ लाख २६६ पुगेको सो विश्वविद्यालयको तथ्याङ्कमा बताइएको छ ।
यसरी अमेरिका यो सङ्क्रमणबाट सबैभन्दा बढी ज्यान जाने देशमा पर्दछ । विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिका छ भने अमेरिकाभित्र भने क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित हो । क्यालिफोर्निया अमेरिकाको सबैभन्दा बढी प्रभावित राज्य हो र यहाँका ७५ हजार ४५५ जनाको यो सङ्क्रमणबाट ज्यान गएको पनि सो समाचारमा जनाइएको छ ।
त्यसपछि सबैभन्दा बढी प्रभावित टेक्सास ७४ हजारभन्दा बढीको ज्यान गएको छ । त्यसपछि बढी प्रभावित राज्यमा फ्लोरिडा पर्दछ । यहाँका ६२ हजारभन्दा बढीको ज्यान गएको छ । त्यसैगरी न्युयोर्कमा भने ५८ हजार जनाभन्दा बढीको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारमा विश्वमा यस सङ्क्रमणबाट भएको मृत्युको १५ प्रतिशत अमेरिकामा मात्र रहेको बताइएको छ । त्यसैगरी विश्वका सङ्क्रमितको १८ प्रतिशत यहाँ सङ्क्रमित रहेका पनि बताइएको छ ।
त्यस्तै हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५ करोडभन्दा बढी पुगेको सो तथ्याङ्कमा जनाइएको छ । अमेरिकामा गएको करिब दुई महिनायता कोभिड सङ्क्रमण घट्ने क्रममा रहेकामा पछिल्ला दुई हप्तामा दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेको देखिन्छ । अमेरिकामा खासगरी भरमोन्ट, न्यू ह्यामशायर र मिचिगन जस्ता चिसो क्षेत्रमा सङ्क्रमित बढ्न थालेका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
अधिकारीहरुले अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको जनाएका छन् । नोभेम्बरको अन्त्यमा अस्पताल भर्ना हुने कोभिड सङ्क्रमितको सङ्ख्या २० प्रतिशतले बढेको बताइएको छ ।अमेरिकामा डेल्टा भेरियन्ट नै सबैभन्दा बढी मात्रामा सङ्क्रमणको प्रमुख कारण बनिरहेको अधिकारीहरूले बताएका छन् । उता यहाँ नयाँ ओमिक्रोन भेरियन्ट फैलिने क्रम पनि जारी छ ।
यहाँ पनि प्रत्येक दिन नयाँ ओमिक्रोन भेरियन्टका सङ्क्रमितहरु थपिँदै गएका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले यहाँका संक्रमितहरुमध्ये ९९ प्रतिशत डेल्टा भेरियन्टका छन् ।