गाेरखापत्र अनलाइन
काठमाडाैं, पुस ५ गते । चिलीको राष्ट्रपति पदमा वामपन्थी उम्मेदवार गाब्रिएल बोरिकले निर्वाचित हुनुभएकाे छ । विश्वकै कम उमेरका नेताहरूमध्ये एक ३५ वर्षीय बोरिक चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति हुनुभएकाे हाे ।
उहाँका निकटतम प्रतिस्पर्धी चरम दक्षिणपन्थी उम्मेदवार जोस एन्टोनियो कास्टले आधा मतपत्र गणना भएकै बेला आफ्नो पराजय स्वीकार गरिसक्नुभएकाे छ । कास्टले एक ट्विट गर्दै विशाल जितका लागि बोरिकलाई बधाइ दिइसक्नुभएकाे छ ।
गनिएकाे करिब आधा मतपत्रमा बोरिकले ५६ प्रतिशत मत पाउनुभएकाे थियाे भने कास्टले ४४ प्रतिशत मत प्राप्त गर्नुभएकाे थियाे ।
सन् २०१९ र २०२० मा चिलीमा असमानता र भ्रष्टाचारको विरोधमा सरकारी विराेधका प्रदर्शनपछि निर्वाचन भएकाे हाे । ल्याटिन अमेरिकामा कुनै बेला आर्थिकरूपमा सर्वाधिक सन्तुलित अर्थतन्त्र भएको चिली विश्वकै सर्वाधिक आम्दानी असमानता भएको देश मानिन्छ ।
दुबै प्रतिस्पर्धी सरकारमा नगएका राजनीतिक पार्टीकाे प्रतिनिधित्व गर्दै चुनावमा हाेमिनुभएकाे थियाे ।
बोरिकले चिलीको निवृतभरण र स्वास्थ्य प्रणालीमा सुधार ल्याएर, सातामा ४५ देखि ४० घन्टाको काम घण्टा निर्धारण गर्ने र हरित लगानी प्रवर्द्धन गरी असमानता हटाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।
उहाँका प्रतिस्पर्धी कास्टले कानुन व्यवस्था बनाएर, कर र सामाजिक खर्च घटाउने वाचा गर्नुभएकाे थियाे । कास्टले पूवै सैनिक जनरल अगस्टो पिनोसेको विरासतलाई सही ठहर मान्नुभएकाे थियाे ।
पिनासेले सन् १९७३ मा सत्ता कब्जा गरी १९९० सम्म शासन गर्नुभएकाे थियाे । उहाँको कार्यकालमा तीन हजार मानिसको हत्या भएकाे थियो । हजारौं राजनीतिक कार्यकतालाई बेपत्ता पारेर नजरबन्दमा राखिएकाे थियाे । –एजेन्सीहरू