नयाँदिल्ली, पुस १६ गते । दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँदिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताउनुभएको छ । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएकाे उहाँले बताउनुभयो ।
अनुसन्धानबाट ओमिक्रोनको सङ्क्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उहाँले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना सङ्क्रमणका ४० प्रतिशतभन्दा बढी सङ्क्रमित त ओमिक्रोनकै भएको बताउनुभयो । उहाँले भन्नुभयो– अनुसन्धानबाट यो देखिएको छ कि यहाँका सङ्क्रमितहरुमा ओमिक्रोनको सङ्क्रमण बढी देखिएको छ । त्यस्तो सङ्क्रमण बाहिरबाट आएका मानिस र यहीँ रहेकामा नै देखिएको छ । त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको पाइएको छ ।
कतै पनि नगएका नागरिकमा यस्तो सङ्क्रमण पाइएको छ, अनि यस्तो अवस्थामा हामीले निकालेको निष्कर्ष यो हो कि यहाँका समुदायस्तरकै नागरिकसम्म नै यसको सङ्क्रमण पुगेको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण भित्रिएको धेरै भएको छैन, तर यहाँका नागरिकमा निकै तीव्रगतिमा यो फैलिएको छ उहाँले भन्नुभएको छ ।