logo
२०८१ मंसिर ९ आईतवार



फ्रान्समा कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी सङ्क्रमित

अन्तर्राष्ट्रिय |


फ्रान्समा कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी सङ्क्रमित


पेरिस, पुस २१ गते । फ्रान्सका स्वास्थ्य अधिकारीहरुले यहाँ ठूलो सङ्ख्यामा दैनिक कोभिड सङ्क्रमित भेटिएका बताएका छन् । युरोपमा पछिल्ला दिनहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको यहाँका अधिकारीरुले जनाएका छन् ।

मङ्गलबार त्यसको पछिल्लो २४ घन्टामा फ्रान्समा २ लाख ७१ हजार ६८६ जनामा सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन् । यो सङ्ख्या फ्रान्समा कोभिडको महामारी सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएकाे बताइएको छ । फ्रान्सबाहेक अन्य युरोपेली देश ग्रीस, पोर्चुगल, इटाली र बेलायतमा पनि अहिलेसम्मकै उच्च सङ्ख्यामा सङ्क्रमित भेटिएका समाचारहरु आइरहेकाे बताइएको छ ।

पछिल्ला दिनमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण पनि युरोपमा कोभिड तीव्रगतिमा फैलिएको बताइएको हो ।साथै मङ्गलबार दिएको जानकारीअनुसार हाल त्यहाँका २० हजारभन्दा बढी व्यक्ति अस्पताल भर्ना भएका छन् । तीमध्ये तीन हजार ६०० भन्दा बढी आइसियूमा भर्ना भएका बताइएको छ ।

कोभिडको पछिल्लो लहरले युरोपको स्वास्थ्य प्रणालीलाई नै तहसनहस पार्न सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले चेतावनी दिँदै आएको छ । जनवरीदेखि फ्रान्समा दैनिक सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार नाघ्ने फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिअर भेरानले बताउनुभएको थियो ।

सोही बमोजिम नै अहिले यहाँ कोभिडका सङ्क्रमतिहरु बढेका बताइएको छ । आगामी दिनमा फ्रान्सका अस्पताल कोभिडका बिरामीले भरिन सक्ने यहाँका चिकित्सकहरुले जनाएका छन् । फ्रान्सको सरकारले यहाँका कर्मचारीलाई घरबाटै गर्न मिल्ने काम घरबाट गर्न निर्देशन दिएको छ । फ्रान्समा कोभिडको बुस्टर डोज लगाउने काम पनि जारी छ तर सङ्क्रमितहरु भने बढेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?