पेरिस, माघ १२ गते । फ्रान्समा एकै दिन ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी सङ्क्रमित फेला परेका हुन् ।
फ्रान्समा पछिल्लो २४ घन्टामा ५ लाखभन्दा बढीमा सङ्क्रमण देखिएको बताइएको हो । फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा ५ लाख १ हजार ७७९ जनामा सङ्क्रमण देखिएको हो । फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको सङ्ख्या पनि दैनिक बढिरहेको अधिकरीहरुको भनाइ छ ।
यहाँका स्वास्थ्य मन्त्रीले अहिले आइसियुमा भर्ना हुने सङ्क्रमितको सङ्ख्या भने घटेको बताएका छन् । पछिल्ला समयमा यहाँ अस्पताल भर्ना हुने बिरामी पनि घटेका पाइएको हो । यहाँका अस्पतालका अघिल्लो हप्तासम्म करिब ४ हजार जना सङ्क्रमित भर्ना भएकामा अहिले त्यसमा आधभन्दा बढी कमी आएको छ ।
उता गएको २४ घण्टामा मृत्यु भने ३६४ जना पुगेको पनि बताइएको छ । फ्रान्समा अहिलेसम्म कोभिडबाट १ लाखभन्दा बढीको मृत्यु भएको बताइएको छ । फ्रान्सबाहेक अन्य युरोपेली मुलुक बेलायत, इटाली, ग्रीस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च सङ्ख्यामा सङ्क्रमित भेटिएका छन् ।
युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र रूपमा फैलिएको बताइएको छ ।