logo
२०८१ बैशाख २२ शनिवार



सोमालियामा खडेरीका कारण खाद्य सहायताको आवश्यकता

अन्तर्राष्ट्रिय |


सोमालियामा खडेरीका कारण खाद्य सहायताको आवश्यकता


मोगादिसु, फागुन १० गते । संयुक्त राष्ट्रसङ्घले सोमालियाका करिब ५५ लाख नागरिकका लागि तत्काल खाद्य सहायता उपलब्ध गराउनुपर्ने बताएको छ । यहाँ अहिलेसम्म करिब ५५ लाख मानिसले खाद्यान्नको अभाव झेलिरहेका र तीमध्ये १४ लाख बालबालिका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले त्यहाँ विकराल बन्दै गएको र खडेरीका कारण लाखौं मानिसहरु भोकमरीको गम्भीर अवस्था सामना गर्न बाध्य भएका बताएको छ ।

सोमालियाका लागि राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रतिनिधि आदम अब्देलमौलाले यहाँ अहिले ठूलो सङ्ख्याका मानिस खाद्यान्न अभावको चपेटामा परेका र उनीहरु खासगरी खडेरीका कारण यस्तो अवस्थामा परेका बताउनुभएको छ ।

उहाँले चरम भोकमरीका कारण त्यहाँका ५ वर्षमुनिका लाखौँ बालबालिका कुपोषित भएको र तत्काल उपचार नगरे उनीहरुको ज्यानै जानसक्ने बताउनुभयो । त्यसैले राष्ट्रसङ्घले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदाय समक्ष अपिल गरेको पनि उहाँले बताउनुभएको छ । ती बालबालिकाका लागि आवश्यक खाद्यान्न र उपचारका लागि पनि तत्कालै सहयोग आवश्यक रहेको जनाइएको छ ।

भोकमरीका कारण त्यहाँका करिब ५ लाख मानिस खानेकुराको खोजीमा अन्य स्थान पलायन भइसकेका छन् । करिब २९ लाख मानिस देशभित्रै विस्थापित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?