logo
२०८१ मंसिर ८ शनिवार



ब्राजिलमा बाढी र पहिरोबाट १८५ को मृत्यु

अन्तर्राष्ट्रिय |


ब्राजिलमा बाढी र पहिरोबाट १८५ को मृत्यु


ब्रासिलिया, फागुन ११ गते । ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १८५ पुगेको स्थानीय अधिकारीले मङ्गलबार जनाएका छन् । रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरु कम्तीमा ८५ जना अझै पनि हराइरहेका उनीहरुले जानकारी दिएका छन् ।

यस क्षेत्रमा सबैभन्दा तीव्र वर्षा फेब्रुअरी १५ मा रेकर्ड गरिएको थियो । त्यस दिनको वर्षा सन् १९३२ पछिको सबैभन्दा बढी थियो । वर्षाका कारण यहाँ मानवीयका साथै अन्य भौतिक सम्पत्तिमा पनि क्षति पुगेको बताइएको छ । त्यसपछि धेरै पटक भारी वर्षा भएको छ । हालको रेकर्ड गरिएको मृत्युको सङ्ख्या यस सहरको इतिहासमा सबैभन्दा धेरै हो । सन् १९८८ मा विनाशकारी भारी वर्षाको कारण १७१ व्यक्तिको मृत्यु भएको थियो ।

यहाँ गएको आठ दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ । यहाँका स्थानीय अधिकारीले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण सडक बन्द भएका छन् र भने ठूलो मात्रामा भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ । यसबाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीले जनाएका छन् । यहाँका उद्धारकर्मीको भनाइअनुसार सबैभन्दा बढी क्षति पेट्रोपोलिस सहरमा भएको छ ।

बाढी तथा डुबानका कारण करिब दर्जनौँ घर क्षतिग्रस्त भएका र सयौँ जनालाई प्रायःजसो विद्यालयमा आश्रय दिइएको बताइएको छ । विशेषज्ञको भनाइअनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढाइरहेको छ ।

व्यवसायहरू मङ्गलबार पुनः खोल्न थालिएको छ । मानिसहरूले घरहरू, ऐतिहासिक भवनहरू र डाउनटाउन क्षेत्र सफा गर्न जारी राखेका बताइएको छ । पहिरो र बाढीबाट हालसम्म करिब ६२० टन माटो निस्किएको फोहोर सङ्कलन गर्ने कम्पनीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?