logo
२०८१ मंसिर ८ शनिवार



देश जोगाउन युक्रेनी जनता सडकमा, बनाउन थाले पेट्रोल बम

अन्तर्राष्ट्रिय |


देश जोगाउन युक्रेनी जनता सडकमा, बनाउन थाले पेट्रोल बम



काठमाडौं, फागुन १५ गते । रुसले छिमेकी देश युक्रेनमाथि आक्रमण गरेपछि देश जोगाउन युक्रेनी जनता प्रतिरक्षा गर्न सडकमा आउन थालेका छन् । निरन्तर मिसाइल आक्रमण गरेर कब्जा लिन खोजिए पनि राजधानी किभ युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्स्कीको नियन्त्रणमा छ ।

‘आक्रमणकारीहरुले हाम्रो मुख्य सत्तामाथि निषेध गर्न चाहेका थिए, तर हामीले उनीहरुको योजनालाई भताभुङ्ग पारिदिएका छौँ’– राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो । उहाँका अनुसार राजधानी किभ, खारकिभ, ओडिसामा युक्रेनी सेनाले रुसी सेनासँग प्रतिरोध गरिरहेको छ ।

राजधानी किभमा रुसी सेना पसेदेखि युक्रेनी जनतालाई सोमबार बिहानसम्म घरबाट बाहिर ननिस्कन निर्देशन दिइएको छ । उता, राजधानी किभमा छिरेका रुसी सेनालाई प्रतिरोध गर्न आक्रमण गरेको तेस्राे दिन डिनेप्रो शहरमा युक्रेनी जनता मोलोटोभ बम (पेट्रोल बम) बनाउन लागेको बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्स्कीले युवालाई देश नछाड्न र देशमा सङ्कटकाल लगाएपछि रुसी आक्रमण परास्त गर्न सर्वसाधारण जनतालाई हतियार वितरण गर्नुभएको छ ।
स्वयं राष्ट्रपति जेलेन्स्की युक्रेनी सेनाको हौसला बढाउन युद्धमैदानमा रहेर प्रतिरोध गर्न सेना र जनतालाई निर्देशन दिइरहनुभएको छ ।

अहिलेसम्म युद्धमा परेर १९८ जना युक्रेनी मारिएका र ४८ घण्टामा एकलाख २० हजारले युक्रेन छाडेका जानकारी संयुक्त राष्ट्रसङ्घले दिएको छ । यता, युक्रेन सरकारले १३७ जना (सैनिक र गैरसैनिक) मारिएको बताए पनि रुसले आफ्नो हताहतीबारे केही बताएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?