logo
२०८१ मंसिर ७ शुक्रवार



बाल अस्पतालमा आक्रमण नगरेको रुसकाे दाबी

अन्तर्राष्ट्रिय |


बाल अस्पतालमा आक्रमण नगरेको रुसकाे दाबी


काठमाडौं, फागुन २६ गते । पूर्वीदक्षिण युक्रेनको तटीय शहर मारियोपोलमा रहेको बाल अस्पतालमा रुसले आक्रमण नगरेको दाबी गरेको छ ।

संयुक्त राष्ट्र सङ्घ र युक्रेन सरकारले रुसी सेनाको हमलामा बाल अस्पतालमा क्षेप्यास्त्र खसेपछि विरोध गरेपछि उक्त आरोपको खण्डन गर्दै रुसले सो कुरा बताएको हो ।

रुसले सो समाचार झुटाे भएको दाबी गर्दै विगतमा सञ्चालनमा रहेको बाल अस्पताललाई युक्रेनी सेनाले आफ्नो ब्यारेक बनाएको बताएको छ ।

संयुक्त राष्ट्र सङ्घका लागि प्रथम सहायक आवासीय राजदूत डिमित्री पोल्यान्सीकले एक ट्वीट गर्नुभएको छ ,‘कसरी असत्य समाचार जन्माइन्छ भनेको यसरी रहेछ ।’
उहाँका अनुसार रुसले मार्च ७ तारिखमा युक्रेनी सेनाले अस्पताललाई प्रयोग गर्दै भीषण गोली हानेका थिए ।

केही दिनदेखि युक्रेनी सेनाले अस्पताललाई ब्यारेक बनाएर रुसी सेनामाथि प्रतिरोध गरिरहेको बताइएको छ ।
यसअघि केही दिनदेखि मारियोपोलमा रहेको गैरसैनिक इलाकामा रुसी सेनाको हमला भैरहेकोप्रति राष्ट्र सङ्घले निन्दा गर्दै आएको हो ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले असंवेदनशील हिंसा अन्त्य गर्नुपर्ने धारणा राख्दै गैरसैनिक इलाकामा भएका हमलाको निन्दा गर्नुभएको अलजजिराले उल्लेख गरेको छ ।
युक्रेन सरकारले हमलामा परेर अस्पतालको प्रसूतिगृहमा १७ जना घाइते भएको रुसमाथि आरोप लगाएको थियो ।

यसैबीच, मारियोपोल नगरप्रमुखले रुसले शहरमाथि घेराबन्दी गरेपछि हमलामा परेर १२ सय गैरसैनिक नागरिकको हताहती भएको दाबी गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?