काठमाडाैं, फागुन २९ गते । करिब २५ किलोमिटरको दूरीमा रुसी सेनाको फौज पुगेपछि गैरसैनिक नागरिकहरु राजधानी किभबाट विस्थापित भएका छन् ।
केही दिनदेखि पश्चिम, उत्तर र उत्तरपूर्वी दिशाबाट मोर्चा कसेर किभमाथि अन्धाधुन्ध क्षेप्यास्त्र हमला गरिरहेका रुसी फौज किभतर्फ बढिरहेकाले राजधानीवासीको भागदौड मच्चिएको अलजजिराले उल्लेख गरेको छ ।
युक्रेनमाथि तीन दिशाबाट वायु, जल र थल सेनाको मद्दतले १८ औं दिनदेखि भीषण हमलामा उत्रेको रुसी फाैजमाथि युक्रेनी सेनाले प्रतिरोध गरिरहे पनि फिर्ता पठाउन सकेको छैन ।
हिजो शनिबार मेलिटोपोल शहरका मेयरलाई रुसी फौजले बन्धक बनाएर लगेपछि युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्स्कीले इजरायली समकक्षी नाप्तालिया बेनेटसँग शान्तिवार्ताको लागि पहल गर्ने अनुरोध गर्नुभएको छ ।
उहाँले एक ट्वीट गर्नुहुँदै यस युद्धको अन्त्य गर्न शान्तिवार्ताको प्रयास र मेलिटोपोल शहरका मेयरलाई छुटाउन पहल गर्न इजरायली समकक्षीसँग अनुरोध गर्नुभएको हो ।
यसैबीच, राष्ट्रपति जेलेन्स्कीले राजधानी किभमाथि कब्जा गर्ने रुसी फौजसँग अन्तिम सास रहुञ्जेल लड्ने बताउनुभयो ।
मेरिपोल शहरका मेयरका अनुसार घेराबन्दीमा परेको शहरमाथि दिनरात गरिएको क्षेप्यास्त्र हमलामा परी १५ सय जनता मारिएका छन् ।